काठमाडौँ – वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै एक करोड भन्दा बढी ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको लेखनाथ टोल बस्ने ३२ वर्षीया सुरुची भुजेल पक्राउ परेकी हुन् ।
उनले वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै करोडौँको ठगी गरेकी हुन् । भुजेलसँगको मिलिमतोमा पोखराका ४२ वर्षीय विनोद श्रेष्ठले सिर्जन कुमार राईसमेत ३० जनालाई टर्की पठाइदिन्छु भन्दै ठगी गरेका थिए ।
उनीहरुले विभिन्न किसिमको प्रलोभन देखाई पीडितबाट १ करोड १५ लाख ९९ हजार ८ सय रुपैयाँ ठगी गरेको पाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
भुजेललाई आसोज ६ गते पोखराबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागले पठाएको पत्रका आधारमा भुललाई पक्राउ गरेको हो भने काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद लिई ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।


0 comment