काठमाडौँ – राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकहरुले सडक आन्दोलनलाई आज सोमबार पनि जारी राख्दै बानेश्वरको सडकमा सुतेरै विरोध जनाएका छन् ।
सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग सम्बोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित गरि ४० हजार शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको उनीहरुले बताएका छन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिले असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको र सो सम्झौताको विरुद्ध भण्डाफोर गर्दै सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने बताएको छ । त्यस्तै पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दालाई सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।


0 comment