काठमाडौं – नेकपा माओबादीका अध्यक्ष एबम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच आज बेइजिङमा द्विपक्षीय भेटवार्ता हुने भएको छ ।
आइतबार बेइजिङमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीच क्रस बोर्डर इकोनोमिक जोन, सडक करिडोर, रेल,ट्रान्समिसन लाइनमा काम भइरहेको बताएका छन् । आर्थिक सहयोग र साझेदारी अघि बढाउने विषयमा आफू र चिनियाँ राष्ट्रपति सी जीनपिङबीच छलफल भएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् । उनले चिनियाँ राष्ट्रपति सी र आफूले क्रस बोर्डर कनेक्टिभिटीलाई मजबुत पार्ने विषयमा गम्भीर छलफल भएको बताएका हुन् ।
नेपालको चीनसँग व्यापार घाटा ठूलो रहेको भन्दै त्यसलाई घटाउनका लागि उत्पादन क्षमतामा वृद्धि गर्नुपर्ने र भौतिक पूर्वाधारमा सुधार आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डले बताए । यस अगाडि प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विभिन्न क्षेत्रबाट उडान गर्ने विषयमा पनि छलफल हुने बताएका थिए ।
वार्तामा बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता, नेपाल–चीन विद्युत् व्यापार, व्यापारिक सन्धि पुनरावलोकन, बीआरआईअन्तर्गत चिनियाँ अनुदानमा परियोजना निर्माण, नेपालमा लगानी, सीमानाका जोड्ने सडक विस्तार, प्रविधि, औद्योगिक पार्क निर्माण लगायत विषयमा छलफल हुनेछ । चीनमा हिल्सा, अरनिको राजमार्ग, ट्रान्समिशन लाइन, कृषि क्षेत्रको प्रस्तावसमेत रहनेछ ।
यस्तैगरी प्रचण्डले आजै नेसनल पिपल्स कंग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने भएका छन् । कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न प्रधानमन्त्री दाहालले चोङकिङ नगरपालिकाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रचण्ड असोज १३ मा स्वदेश फर्कने कार्यतालिका रहेकोछ ।


0 comment