काठमाडौं – सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठनमा सहमति जुट्न नसक्दा, शीर्ष तहमा छलफल गर्ने दलहरूको तयारी रहेको छ ।

सत्तारुढ दल र प्रतिपक्षीबीच आयोगको कार्यदेशका बारेमा पटकपटक छलफल भएपनि सहमति नजुटेपछि शीर्ष तहमा नै छलफल गर्ने दलहरूको तयारी छ ।  

सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने विषयमा दलहरूबीच विवाद हुँदा आयोग गठनमा ढिलाइ भएको हो। असोज ५ गते नै आयोग गठन गर्ने सहमति एपनि आयोगको कार्यदेशका विषयमा विवाद हुँदा आयोग गठनमा ढिलाइ भएको हो । आयोगको कार्यदेशका बारेमा आइतबार सिंहदरबारमा विभिन्न दलका सचेतकबीच मौजुदा कानुन, घटनाको अनुसन्धानलगायतका विषयमा छलफल भएको थियो । 

सो क्रममा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धान सुरुबाटै गर्नुपर्ने माग राखेको थियो । छलफलपछि एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा सीआईबीले राम्रो काम गरेपनि आयोगलाई सबै अनुसन्धान गर्ने अधिकार दिनुपर्ने बताएका छन् । उनले तस्कारीको पर्दा पछाडिको व्यक्तिमाथि छानबिन गर्न आयोग गठनको माग गरेकाले सबै अनुसन्धान गर्ने क्षेत्राधिकार दिएर आयोग गठन गर्नुपर्ने जिकिर गरका छन् । 

सुन तस्करीको समग्र अनुसन्धान गरेर सरकारलाई प्रतिवेदन बुझाउने र त्यसका आधारमा राज्यको निकायले अभियोजन प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दा असहमति राख्नुपर्ने कुनै कारण नरहेको उनले बताए । बर्तौलाले अदालत वा सो सरहको काम गर्ने गरी कार्यादेश तयार गर्नुपर्ने धारणा राखे । उनले विधुतीय चुरोटबाट भएको सुन तस्कारीका सम्बन्धमा पनि छानबिन अनुसन्धान गरी त्यसमा संलग्नमाथि कारबाही गर्नुपर्ने एमालेको माग रहेको जिकिर गरे।

त्यस्तै कांग्रेस मुख्य सचेतक रमेश लेखकले सीआईबीले गरेको अनुसन्धानकलाई शून्यमा झार्न नहुने र सीआईबीको प्रतिवेदनमाथि अध्ययन गर्न सकिने उनको भनाइ छ । अहिलेसम्मको अनुसन्धानलाई शून्यमा झारेर नयाँ ढंगले अनुसन्धान गर्ने आसय एमालेबाट आएकाले सहमति हुन नसकेको उनको भनाइ छ ।