काठमाडौं - अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सिम्रौनगढ नगरपालिका-८ स्थित जनता माविको भवन निर्माणमा अनियमिता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित भवन निर्माण समितिका अध्यक्ष रामबाबु प्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत चौधरीले प्राविधिकले तयार गरेको मूल्याङकन र भुक्तानीको लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको र निर्माण कार्यमा भए गरेको परिमाणभन्दा ६ लाख ५८ हजार ४४० रुपैयाँ बढी हिनामिना गरेको अख्तियारको ठहर छ। उनीहरूविरुद्ध जनही ६ लाख ५८ हजार ४४० रुपैयाँ विगो दावीसहित सजाय माग गरिएको अख्तियारले जनाएको छ।
यस्तै, भवन निर्माण समितिका अध्यक्ष यादव, सचिव रमाकान्ता प्रसाद र कोषाध्यक्ष किरणले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको एवं नगरपालिकासँग भएको सम्झौताबमोजिमको शर्त पालना नगरी भुक्तानीको लागि स्वीकृत भएको भन्दा बढी तथा निर्माण कार्यमा भए गरेको परिमाणभन्दा ६ लाख ५८ हजार ४४० रुपैयाँ बढी रकम भुक्तानी लिइ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।
उनीहरूविरुद्ध पनि सोही रकम बराबरको विगो दावीसहित सजाय माग गरिएको छ।

0 comment