काठमाडौं – एसियाली खेलकुदमा सहभागी हुन जाने खेलाडीलाई बिदाई गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भदौ २९ गते बस्ने मन्त्रिपरिषदको बैठकबाट खेलाडीहरुको घोषित पुरस्कार रकम निकासा गर्ने बताएका थिए । पछिल्लो ७ महिनामा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पाएको सफलतापछि सरकारले क्रिकेट टिमका सदस्यलाई दिने घोषणा गरेको रकम थपिँदै प्रतिव्यक्ति १७ लाख पुगिसक्दा पनि पुरस्कार रकम अहिलेसम्म पनि हात नपरेको नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले बताएका छन् । एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि आइतबार काठमाडौंमा बिदाइपछि पत्रकारसित कुरा गर्दै उनले भने, ‘सरकारले घोषणा गरेको रकम कति पटक भनिसकेका छौं, अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौं । हेरौं के हुन्छ ।’
एसियाली खेलकुदका लागि राम्रो तयारी भएको र हाम्रो मुख्य उद्देश्य नै मेडल जित्नै हो । त्यसको लागि जस्तो टिम भए पनि आफ्नो प्रोसेस हामीले फलो गर्नुपर्छ ।’ कप्तान पौडेलले बताए ।
टी–२० विश्वकप एसिया छनोटमा नेपाल, यूएई, ओमान, हङकङ, सिंगापुर, बहराइन, मलेसिया र छनोट हुन बाँकी अर्को एक गरी ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोली आगामी वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।
अभ्यासका क्रममा चोटग्रस्त बनेपछि ललित राजवंशी टिममा छैनन् । एक दिवसीय क्रिकेटमा राम्रो बलिङ गर्दैआएका ललितलाई एसियन गेम्समा मिस गर्ने उनले बताए ।


0 comment