काठमाडौँ –  जबरजस्ती करणी विरुद्धको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा फेरि पनि स्थगित भएको छ। ३५ न्यायाधीशको कोटा रहेको काठमाडौँ जिल्ला अदालतमा आइतबार १८ न्यायाधीश मात्रै उपस्थित भएका कारण सन्दीपको मुद्दाको मिसिल रहेको फाँट नम्बर २८ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि आइतबार फेरि स्थगित भएको हो ।

गत बर्ष कार्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको मुद्दा हालसम्म २७ पटक पेसीमा चढिसकेको छ । पुर्पक्षका लागि थुनामा पठाएका कारण उच्च अदालत पाटनले लामिछानेलाई सशर्त रिहा गरेको थियो । 

सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा हाल उमेर विवाद नै मुख्य विषय बनेको छ । पीडित र वादी नेपाल सरकारका तर्फबाट पीडितको उमेर १८ वर्षभन्दा कम भएको दाबी गरी मुद्दा दर्ता गराएका थिए भने लामिछानेका तर्फबाट वकालत गर्ने अधिवक्ताहरूले पीडित भनिएकीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी लिएका छन् ।


असोज १ गतेका लागि अन्तिम सुनुवाइ भनेपनि न्यायाधीशको अभावका कारण उक्त मुद्दा स्थगित भएको थियो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार गोला तान्दा सन्दीपको मुद्दा रहेको २८ नम्बर फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि उनको मुद्दा स्थगितको सूचीमा परेको हो ।