काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँगको सम्बन्धलाई विकासको रणनीतिमा जोड्न चाहने बताएका छन् ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” नेतृत्वको प्रतिनिधिमण्डलसँग राष्ट्रपति सीले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई विकासको रणनीतिमा जोड्न चाहेको बताएको नेपालका लागि चिनियाँ राजदूत “सोङल” जानकारी दिएका छन् । 

राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएको र द्विपक्षीय सम्बन्धको निरन्तर नयाँ प्रगतिलाई प्रवर्द्धन गर्न नेपालसँग विकास रणनीतिको सहकार्यलाई सुदृढ गर्न इच्छुक रहेको कुरामा जोड दिएको राजदूत सोङले ट्वीटमा भनेका छन् । 

झेजियाङको राजधानी सहर हाङ्झाउमा १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि उनीहरुबीच औपचारिक भेटवार्ता भएको हो । 
प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सिले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्वपूर्ण रहेको बताएका छन्  । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार राष्ट्रपति सिले वार्तामा नेपालको आर्थिक, सामाजिक विकासमा सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिएका छन् । 

नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता व्यवहारबाटै पुष्टि गरेको बताउँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अंगिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रष्ट पारे । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले सहमति जनाइसकेको स्मरण गरे।