काठमाडौं – दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने, अरु दुई जना गम्भीर घाइते भएका छन् ।

यसरी मृत्यु हुनेमा, मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ११ निवासी अन्दाजी ४३ वर्षीया रिता लामिछाने रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार, आज दिउँसो साढे २ बजेतिर तुलसीपुर ११ बेलटाकुरास्थित भगवती टोल बस्ने अन्दाजी ३९ वर्षीय टेक बहादुर हमालले खुकुरी प्रहार गर्दा लामीछनेको ज्यान गएको हो भने, अरु दुई जना गम्भीर घाइते भएका छन् । 

आफ्नै घर अगाडि उभिरहेको अवस्थामा घाँटीमा एक्कासी खुकुरी प्रहार गर्दा रिताको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ । यस्तै सोही ठाउँ बस्ने ४५ वर्षिय वीरबहादुर हमाल र अन्दाजी ६५ वर्षिया कमला कुमारी हमाल गम्भीर घाइते भएका छन् ।

घाइते दुवै जनाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको प्रहरीले बताएको छ । साथै प्रहरीले खुकुरी प्रहार गर्ने टेक बहादुर हमाललाई आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा खुकुरीसहित पक्राउ गरी यसबारे थप अनुशन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।