काठमाडौं – प्रहरीमाथि आक्रमण गर्ने ३ जनालाई प्रहरीले सङ्खुवासभाको पाँचखपन नगरपालिकाबाट पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा, पाँचखपन–७ का ३२ वर्षीय महेश कटुवाल, २७ वर्षीय वसन्त कटुवाल र २४ वर्षीय विष्णु कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार लामिछानेले जानकारी दिएका छन् । 

उनीहरुले बुधवार राति साढे ११ बजेको समयमा जाँड–रक्सी खाएर बजारमा होहल्ला गरी बजार नै आतङ्कित बनाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीट टोलीले सम्झाउँदा प्रहरी हवल्दार सन्तोष राईमाथि नै आक्रमण गरी घाइते बनाएको लामिछानेले बताएका छन् । घाईते प्रहरी हवल्दारको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

पक्राउ परेका तीनै जनामाथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।