काठमाडौं - बाँकेको डडुवा गाउँपालिका–६ स्थित जयन्दु बाल सुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा रुपन्देहीको कञ्चन गाउँपालिका–४ का २१ वर्षीय सुलभ केसी रहेका छन्। झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उनी अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणीको मुद्दामा बाल सुधार गृहमा थिए ।
थुनुवाले सुधार गृहको भवनका झ्यालका सिसा, रेलिङ, बार भत्काएका छन् भने सुधार गृहमा रहेको दुई मोटरसाइकल, एउटा कम्प्युटर तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।
बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ। बालसुधार गृहमा अहिले पनि प्रहरी तैनाथ रहेको छ।
झडपपछि नौजना थुनुवा फरार भएका छन् । फरार भएकाहरू कहाँका हुन् र कहिलेदेखि बाल सुधार गृहमा थिए भन्ने विषय खुल्न सकेको छैन। फरार रहेका सबैको खोजी गर्न प्रहरी परिचालन गरिएको छ ।
दुई ब्लक रहेको उक्त सुधार गृहमा अहिले पनि दुई पक्षबीच भनाभन भइरहेको छ । भवनभित्र तनाव जारी रहेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा तैनाथ रहेका छन् । दुई सय ५४ थुनुवा रहेको सुधार गृहमा १८ वर्षमाथिका एक सय ६५ थुनुवा छन् ।


0 comment