काठमाडौं – दाइजोको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा एक श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा, सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगत रहेको प्रहरीले जानकारी दिएको छ । माइती पक्षले उजुरी दिएको आधारमा भगत पक्राउ परेका हुन् ।

भगतले विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया निकिता चौधरीको शनिवार राति हत्या गरेको आरोपमा उनलाई प्रक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो । 

माइती पक्षको अनुसार भगतले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग ३२ लाख रुपैयाँ नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा पाएका थिए, थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप छ । यस्तै थप दाइजो माग्दै दिदीको हत्या गरेको भन्दै मृतकका भाइ राकेशले उनका भिनाजु भगतलाई कारबाही गर्न माग गरेको प्रहरीले जनाएको छ ।

चौधरीको ११ महिनाको छोरासमेत रहेको छ । माइती पक्षले नाबालक छोराको समेत जिउज्यानको सुरक्षा गरिदिन प्रहरीसमक्ष आग्रह गरेका छन् ।

हत्याका आरोपी भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ