प्रभातराज पाण्डे,

वलिको खास अर्थ हो उपहार या नैवेद्य, चढाईने वस्तु विशेष । देवताका लागि वलि नैवेद्यका रुपमा सर्मपण गरिन्छ । भोजन गर्नु भन्दा अगाडि देवता र पितृका उद्देश्यले चढाईने अन्नलाई नै वलि भनिन्छ । यसैलाई औसनी पनि भनिन्छ । पूजा, होम आदि यज्ञ सम्पन्न भएपछि क्षेत्रपाललाई चढाईने अन्न पञ्चमहायज्ञ मध्ये एक भूतयज्ञ हो वलि । लोकहित वा राष्ट्रहितको निमित्त गरिने उत्र्सग वा त्यागलाई पनि बलिदान भनिन्छ । 

गाई, कुकुर, काग आदि पशुपंक्षिलाई दिनका–दिन आफुले खानुभन्दा अगाडि दिईने अन्न विशेषलाई वलि भन्दछन् । यसरी गरिने वैदिक–पौराणिक–धार्मिक कृत्यमा कहिँपनि वलिका सन्र्दभमा पशुवलिको प्रसंग आएको छैन । कसैको स्वामित्वमा रहेको वस्तु उसको अनुमतिविना आफ्नो स्वामित्वमा लिनुलाई चोरी, डकैति भनिन्छ । त्यस्तै कसैको नारीको स्वीकृतिविना यौनहिंसा गर्नुलाई बलात्कार भनिन्छ भने कसैको अनुमतिविना ज्यानै मार्नु, त्यसको मासु खानुलाई के अपराध भन्नु ठीक पर्ला ? त्यो चोरी हो, डकैति हो, अधर्म हो, अन्याय हो, हत्या हो, हिंसा हो । देविदेवताका मन्दिरमा मुर्तिमा जीवको हिंसा गर्नु, वलिदिनु शास्त्र विरुद्ध हो । आफ्ना सन्तानको रगत–मासुबाट आमा खुसि हुन्छिन भन्ठान्नु महामुर्खता हो । विवेकशिल, वुद्धिमान, सज्जन, साधु, सन्त, महात्मा, जिव–हिंसा देखि अत्यन्त दुर रहन्छन् । जीव–हत्या गरेर कुनैपनि प्राणिलाई मारेर, वलि दिएर पुण्य कमाउछु भन्ठान्नु राक्षसी, दानवि, तामसि प्रकृतिका मानिसलाई मात्र सुहाउला । समझदार, पुण्यात्मा, साधु सोभावका मान्छे यस्ता कुकर्मतिर पटक्कै लग्दैनन् । 

“अहिंसा परमो धर्मः”अहिंसा नै परमोधर्म हो भनि महाभारतमा उद्घोष गरिएको हुनाले पशुवलिबाट धर्म हुन्छ भन्ने कुरा कुन शास्त्रका आधारमा पत्याउने होला । भगवान माहाविरले आफ्नो शिक्षाको उपदेशको मुल आधार बनाएका छन्– बाँच र बाँच्न देऊ । अहिंसात्मक जिवन शैलिले मनुष्यलाई उध्र्वगति तिर उन्मुख गराउँछ । हिंसा नगर्ने मनुष्यको कहिल्यै अधोगति हुदैन । हिंसा गर्ने, हत्या गर्ने, मारकाट गर्ने, प्राणीमात्रलाई दुःख दिने मान्छे न त धार्मिक हुन्छ न त ध्यानी वा ज्ञानी । अर्कालाई काटेर, मारेर, रेटेर रगतको खोला बगाएर प्रसाद भन्दै मासु र हाड चपाएर कोही भक्त हुदैन, नैतिक र चरित्रवान पनि हुदैन । अतः पशुवलि शास्त्रसम्मत कदापि होइन, धर्म कदापि होइन, सस्कृति त झनै हुदै होइन । यो त अर्धम हो, निषिद्ध कर्म हो, धर्म विरुद्ध हो ।

मासु खाने मान्छेमा दयाभाव पटक्कै हुदैन । दया नभय दान दिन हातै उठ्दैन । दान नगर्नेलाई ध्यान लाग्दैन । ध्यानको अभ्यासमा दृढता नभए ज्ञान मार्गमा लाग्न सकिदैन । ज्ञान नभए मोक्षलाभ हुदैन । अहिंसा, दया, दान, आदिबाट आनन्द भएको अध्यात्म यात्रा ज्ञानमा पनि मोक्षमा पुगेपछि टुंगिन्छ । 
अहिंसाको पूर्ण मात्रामा पालना नगरिकन, जीव हिंसा वा पशुवलि नरोकीकन हामी पूर्णरुपले न त धार्मिक बन्न सक्छौ न त आध्यात्मिक नै । “दया नै धर्मको मूल हो ” भन्ने अमरसुक्तिलाई बोधपूर्वक हृदयंगम नगरी पूर्ण स्वस्थ जीवन बाच्न सकिदैन । बोका, राँगा, कुखुरा, हाँस, च्याङग्रा, भेडा आदि अत्यन्त सरल, निरीह प्राणिको हत्या गर्नु, वलिका नाममा मार्नु र तीनको मासु खानु मनुष्यका लागि जघन्य अपराध हो, अनैतिक कुर्कम हो । झन देवाता वा देविका नाममा पशुपंक्षि आदिको वलि दिनु त शास्त्र अनुमोदित पनि छैन, अनी मासु खानु स्वास्थ्यका लागि पनि हितकर कदापि छैन ।
(लेखकः विशाल नेपाल महाअभियानका केन्द्रिय सदस्य हुनुहुन्छ)