काठमाडौं - खालिस्थानी नेता हरदीप सिंह निज्जरको हत्याको विषयलाई लिएर भारत र क्यानडाबीच सुरु भएको तनाव चुलिँदै गएको छ।

क्यानडाले पृथकतावादी खालिस्तान नेता निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एकजना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गर्दा तनावको स्थिति सृजना भएको हो। भारतले निष्कासन गरेको क्यानाडाली कूटनीतिज्ञलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिएको छ।

तनाव चुलिँदै गएपछि मंगलबार राति क्यानडाले भारतमा रहेका आफ्ना नागरिकहरूलाई  उच्चसतर्कता अपनाउन एडभाइजरी जारी गरेको थियो। क्यानडाले आतंकवादी हमलाको खतरालाई मध्यनजर गर्दै भारतमा अति सावधानी अपनाउनु भन्दै अतिआवश्यक कामबाहेक क्यानडाविरोधी गतिविधि हुने स्थानको भ्रमणमा नजान भनेको थियो।

भारतले पनि क्यानडामा रहेका आफ्ना नागरिकहरूलाई सतर्क रहन एडभाइजरी जारी गरेको हो। विशेषगरी  विद्यार्थीहरूलाई अत्याधिक सावधानी अपनाउन र सतर्क रहन भारतले अनुरोध गरेको छ। भारतले जारी गरेको एडभाइजरीमा भनिएको छ, 'क्यानडाले दिएको धम्कीले भारतीय समुदायलाई निशाना बनाइएको छ।  यी धम्कीहरूले विशेषगरी भारत विरोधी एजेन्डाको आलोचना गर्नेहरूलाई लक्षित गरेको छ। यसकारण क्यानडामा भारतविरोधी घटना भइरहेको क्षेत्र र संभावित स्थानहरूमा यात्रा नगर्न अनुरोध छ।'

गत जुनमा निज्जर ब्रिटिस कोलम्बियामा मृत अवस्थामा भेटिएका थिए। उनको मृत्य विवादले दुई देशबीच तनावको स्थिति सृजना भएको छ।