काठमाडौं - संविधान दिवसको अवसर पारेर सरकारले रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा सञ्चालनमा ल्याएको छ।  

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा द्रुत बस सेवाको शुभारम्भ गरेका हुन्।

द्रुत बस सञ्चालनका लागि पहिलेका सडक लेनलाई परिवर्तन गरी फरक मार्किङ गरिएको छ। द्रुत बसहरू चल्ने लेनमा दुई–दुई सय मिटरमा रेड मार्क गरिएको छ। सडक विभागका अनुसार यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ। 

द्रुत सवारी चलेको समयमा यो मार्ग खाली राखिने र त्यहाँ चल्ने बसहरू एम्बुलेन्ससरह कुनै जाममा बस्नु नपर्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। त्यसबाहेकको समयमा भने यो लेनमा सबै प्रकारका सवारीसाधन चल्न पाउनेछन्।

सडक विभागले राती र दिउँसो गरी सडकमा मार्किङको काम गरिरहेको छ। यो सडकमा चलाउन लागि यातायात व्यवस्था विभागलाई २५ वटा ठूला बसको व्यवस्थापन गर्ने जिम्मेवारी मन्त्रालयले दिएको छ। 

सरकारले ट्राफिक व्यवस्थापनका लागि कार्यालय समयलाई ध्यानमा राखी द्रुत बस सेवा सञ्चालनमा ल्याएको हो। द्रुत सेवा सञ्चालनका लागि तीन मिटरको डेडिकेटेड लेन नै छुट्याइएको छ।