काठमाडौं - अन्तत: टीकापुर घटनामा जेल सजाय भोगिरहेका सबै बन्दी रिहा भएका छन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुको कैद कट्टा गरेसँगै कैलाली कारागारमा रहेका ३ जना र पोखरास्थित बाल सुधार गृहमा रहेका एकजना गरी ४ जना बन्दी रिहा भएका हुन् ।
कैलाली कारागारबाट ४१ वर्षीय बीरबहादुर चौधरी, २५ वर्षीय प्रदीप चौधरी र २५ वर्षी हरिनारायण चौधरीसँगै पोखरास्थित बाल सुधार गृहमा रहेका नाबालक श्रवण चौधरी पनि बुधबार नै रिहा भएका छन् । घटनाका मुख्य आरोपी भनिएका रेशमलाल चौधरी यसअघि नै रिहा भइसकेका थिए ।
थरुहट प्रदेशको माग गर्दै २०७२ सालको भदौ ७ गते टीकापुरमा भएको झडपका क्रममा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका २ जना निरीक्षक, हवल्दार, जवान, सशस्त्र प्रहरी हवल्दार र नाबालक गरी ९ जनाको ज्यान गएको थियो ।
संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले फौजदारी कसुर कैद कट्टा नियमावली २०७६ अनुसार उनीहरुको कैद कट्टा गरेका हुन् । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा प्रमुख जिल्ला अधिकारी हुँदै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदीबन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ ।
कैलाली कारागारबाट छुटेका तीनैजनालाई लिन नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, संघीय सांसद अरुण चौधरी, नागरिक उन्मुक्तिका प्रदेश मन्त्री, सांसदसहितका व्यक्तिहरू कैलाली कारागार पुगेका थिए । उनीहरुलाई टीकापुरमा नगर परिक्रमा गरी अभिनन्दन गराइने कार्यक्रम रहेको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । टीकापुर घटनामा संलग्न भएका ३० जना फरार छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले ती ३० जना विरुद्ध लगाइएको झुठा मुद्दा छिट्टै खारेज हुने दाबी गरे ।
यद्यपी रेशमलाल चौधरीको रिहाइका बारेमा सर्वोच्च अदालतले सार्जजनिक गरेको पूर्ण पाठमा भने उनलाई छोडनु उचित नभएको ठहर गरिएको छ ।
रेशम चौधरीको रिहाइका विरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहराले सर्वोच्च अदालतमा रिट निवेदन दिँदै रेशमलाई पुनः पक्राउ गर्न माग गरेकी छिन् । सर्वोच्चमा परेको उक्त रिट उपर सुनवाइ अझै भएको छैन ।


0 comment