काठमाडौं – सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै देशभरबाट काठमाडौं उत्रिएका शिक्षकहरूले माइतीघर मण्डलदेखि जुलुससहित नयाँ बानेश्वर पुगेका छन् ।

नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिबाट निषेधित क्षेत्र तोकिएको छ। मार्च पास गर्दै शिक्षकहरू त्यहाँ भन्दा अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्ने क्रममा धकेलाधकेल पनि भएको थियो ।

महासङ्घले विधेयकको विरोधमा विभिन्न १८ बुँदे असहमति राखेको छ ।  आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका हुन् । 

शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गरेको हो। आन्दोलनका कारण राजधानीको यातायात अस्तव्यस्त बनेको छ।