काठमाडौं – सरकारले संविधान दिवसको अवसर पारी सूर्यविनायक–रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालनको तयारी गरेको छ । नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालनको लागि सडक विभागले सडकमा तीन मिटरको डेडिकेटेड लेन छुट्याउने काम भइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । यातायात व्यवस्था विभागलाई २५ वटा ठूला बसको व्यवस्थापन गर्ने जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको छ ।
यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बससेवा सञ्चालन हुनेछ । द्रुत बसहरु चल्ने लेनमा दुई–दुई सय मिटरमा रेड मार्क गरिएको जानकारी पनि उनले दिए । खासगरी कार्यालय समयलाई ध्यानमा राखी द्रुत बस सेवा चलाउन गर्न लागिएको सडक विभागका प्रवक्ता रामहरि पोखरेले बताए । यसरी रेड मार्किङ गरेको सडकमा भने द्रुत बससेवा सञ्चालनको समयमा अन्य सवारी साधन गुड्न नपाउने उनले बताए ।
‘संविधान दिवसका दिनबाट ट्रायलका रुपमा शुरुमा द्रुतसेवा लेखेर सञ्चालन गरिनेछ भने एक सातापछिबाट पूर्णरुपमा एकै रङका बस सञ्चालन गर्ने तयारी भएको पोखरेलले बताउनु भयो ।


0 comment