काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनबाट आफ्नो पार्टीलाई निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
सोमबार पार्टी कार्यालय आलोकनगरमा नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी)ले आयोजना गरेको कार्यक्रममा उक्त कुराको खुलसा गरेका हुन् । अहिले गठबन्धनलाई कमजोर पार्न र गठबन्धनबाट समाजवादीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको अध्यक्ष नेपालले बताएका छन् ।
उनले अहिलेको गठबन्धन समाजवादका लागि बाधक नभएकाले गठबन्धन र सरकारबाट बाहिर निस्किए पार्टी समाप्त हुन सक्ने जिकिर समेत गरेका छन् । मुलुक अन्त्यै जटिल भूराजनीतिमा रहेकाले एमसीसीलाई मुलुकको हितका आधारमा अघि बढाउनुपर्ने बताएका छन् । साथै समाज रुपान्तरणको क्रममा बाधा हुनेहरूलाई पन्छाउँदै अघि बढ्नुपर्ने अध्यक्ष नेपालले बताएका छन् ।
गठबन्धन बनाउन आफ्नो पार्टीले नै नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै गठबन्धनभित्र भएका कमीकमजोरीलाई सुधार गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने धारणा समेत नेपालले राखेका छन् ।

0 comment