
प्रभातराज पाण्डे,
काठमाडौं – धर्म सवैका लागि हो । पुरुष अथवा महिला, धनी व्यक्ति होस या गरिव, पढेको होस् या अनपढ, भिक्षु होस् या गृहस्थ–धर्म सवैका लागि आवश्यक छ । यसरी नै शीलको पालन गर्नु, समाधि द्धारा मनलाई वशमा राख्नु र प्रज्ञाद्धारा आफ्नो मनलाई नितान्त रुपमा निर्मल गर्ने अभ्यास गर्नु सवैका लागि त्यत्ति नै उपयोगी हुन्छ । कोहि घरवार त्यागेर भिक्षु बन्दछ, भिक्षुणी बन्दछ, उनिहरुका लागि त जिम्मेवारी केहि छैन । तर जो गृहस्थहरु छन्, उनिहरुको त धेरै जिम्मेवारीहरु छन । उनिहरुको जिवनमा धेरै नै वसन्त पतझर आउँछन । कहिले सोच्दै नसोचेको घटना घटिदिन्छ, मननपरेको घटना घट्छ, मनले चाहेको पाउँदैन भित्रभित्रै तनाव नै तनाव हुन्छ । तनाव हुनुको पनि धेरै कारणहरु हुन्छन्, त्यसबाट कसरी छुट्कारा पाउने जानिदैन । मनलाई अन्य ठाँउमा लगायौँ भने तनाव हुदैन । मन बहलाउन, मनोञ्जन गर्न, याताउताका आलम्वन रोजिन्छन् । तर भित्रको भावना त जहाँका त्यहीँ रहन्छ । भित्रको दुःख त त्यसै रहने भयो । त्यसैले गृहस्थको लागि त मनलाई शुद्ध गर्ने काम अझ बढी महत्वपूर्ण छ । उत्तर भारतका करोडौँ जनता विपश्यनामा लागे र त्यसपछि एक पिंढी पछि अर्को पिंढी गर्दै लागि रहे । यसरी भारतका सवै प्रदेशमा विपश्यना फैलिदै गयो । विदेशमा पनि फैलियो । छिमेकी देश सम्म पनि पुग्यो । घरवार त्यागेर भिक्षु नै बन्ने मानिसहरु त थोरै संख्यामा मात्र थिए, बाँकी त सवै गृहस्थहरु ने थिए कोही गरिव होस्, धनी होस्, केहि फरक नै थिएन । विपश्यना त सवैका लागि त्यतिकै महत्वपूर्ण थियो ।
आजकल पनि हजारौँ संख्यामा मानिसहरु ध्यान गर्न आउँछन्, कत्तिलाई रक्सीको लत लागेको हुन्छ, चुरोटको लत लागेको हुन्छ, ड्रगको लत लागेको हुन्छ, यतिमात्र होईन कसैलाई रिसाउने बानि हुन्छ, कसैलाई काम वासनाको व्यसन लागेको हुन्छ, कसैलाई भयको व्यसन लागेको हुन्छ । यी व्यसनहरु समवेदना हेर्दैहेर्दै निस्किदै जान्छ । बाहिरबाट हेर्दा व्यसन रक्सी प्रति जस्तो हुन्छ ड्रगको प्रति पनि त्यस्तै हुन्छ । रक्सी पिउदा, ड्रग खाँदा एक किसिमको समवेदना हुन्छ । पटक–पटक समवेदना ईच्छामा परिणत भई मानिसहरु व्यसनमा लाग्छन् । विपश्यना बाट यस्ता कुलतमा लागेका कैयौ व्यक्तिहरु व्यसनहरु बाट मुक्त भएका छन् । त्यसैले धर्मको बाटोमा लागि जिवन जिउने तरिका सिक्न विपश्यनामा लाग्नु जरुरी छ । विपश्यना सुरु गर्ने वित्तिकै लाभ हुन थाल्छ, जसले धारण गर्छ उसको मंगल हुन्छ, कल्याण हुन्छ, स्वस्ति नै स्वस्ति हुन्छ, मुक्ति नै मुक्ति हुन्छ ।
विपश्यनामा श्रद्धा छ भने त्यो श्रद्धा वलवान हुन्छ । हाम्रो जिवनमा आफ्ना विरोधिहरु प्रति अलिकति प्रेम जाग्न थाल्यो, स्नेह जाग्न थाल्यो, मैत्रि जाग्न थाल्यो, करुणा जाग्न थाल्यो भने त्यो कल्याणको कुरा भयो । यस्तो गुणहरु नल्याईकन कसैले मेरो कृपा गरिदिन्छ, मलाई स्वर्गमा पठाईदिन्छ भन्ने कुरा केवल काल्पनिक कुराहरु मात्र हुन । हामी कहाँ फसेकाछौँ भन्ने बुझि श्रद्धा र भक्तिका साथ विपश्यनाबाट थोरै मात्र भए पनि आफ्नो जिवनमा सदगुणहरु आउन थाल्यो भने धेरै मंगल हुन्छ ।
(लेखकः विशाल नेपाल महाअभियानका केन्द्रिय सदस्य हुनुहुन्छ)


0 comment