काठमाडौं – सुनसरीमा श्रीमती हत्या गरेको आरोपमा श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । 

दाइजोका विषयमा बीच विवाद भएपछि गएराति १० बजेको समयमा सुनसरीको इनरुवा नगरपालिका–३ की २३ वर्षीया निकिता चौधरीको श्रीमान् ३२ वर्षीय नागेन्द्र भगतले घाँटी थिचेर हत्या गरेको मृतकका भाइ राकेशले आरोप लगएका छन् । यस्तै निकिताकी आफन्त सर्मिला चौधरीले निकिताको शरीर भरी निल डाम र घाँटीमा गम्भीर चोट लागेको बताएकी छिन् । 

निकिता र भगतको विवाह भएको २१ महिना भएको थियो । भगतले विवाह गरेको २१ महिनापछि थप दाइजो ल्याउन निकितालाई दबाद दिएर यातना दिने गरेको भाइ राकेशले बताएका छन् । भगतले रातीको समयमा घरमा कोही नभएको बेला श्रीमती निकितालाई कुटपिट गरी घाँटी थिचेर हत्या गरेको यत माइती पक्षको आरोप छ ।

उनीहरूको विवाहमा निकिताका माइतीले ३५ लाख नगद, १० तोला सुन र ८० तोला चाँदी उपहार दिएको बताइएको छ । निकिताको मृत्युपश्चात माइती पक्षले दाइजोको निहुँमा निकिताको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा कर्तव्य ज्यान सम्बन्धी जाहेरी दिएका थिए । माइती पक्षको उजुरीका आधारमा आरोपित भगतलाई पक्राउ गरी घटनाको अनुसन्धान भई रहेको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिएका छन् ।

निकिताका ११ महिनाका छोरा छन् । उनको हत्या पश्चात नाबालक छोराको बिचल्ली भएको छ । भगतले थप दाइजो माग गरी निकितालाई यातना दिएर हत्या गरेकाले हदैसम्मको कारबाही गर्न भाइ राकेशले माग गरेका छन् । 

मृतक चौधरीको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको पठाईएको छ । 

त्यस्तै सुनसरीकै कोशी गाउँपालिका–७ स्थित हरिपुरमा ३० वर्षीया एकल महिला उषा महतोलाई उनकै १९ वर्षीय देवर सन्तोष महतोले विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । 

एक वर्षअघि दाजुको मृत्यु भएपछि भाउजुलाई अंश दिनुपर्ने भनेर गलत मनसायका साथ पटक–पटक कुटपिट गर्दै आएकोमा भदौ ३० गते झुक्याएर विष खुवाई बेहोस बनाएका कारण उषाको मृत्यु भएको बताइएको छ । बिष खुवाएर गम्भीर घाइते भएकी उषालाई तत्काल जिल्ला अस्पताल इनरुवा लगिएकोमा थप उपचारकालागि कोशी अस्पताल रेफर गरेको थियो । सोही राति आमाको मत्यु भएको उषाका १२ वर्षीय छोरा राजेश महतोले बताएका छन् । 

उषाले आफै विष सेवन गरेको वा कसैले विष खुवाएको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख रेग्मीले जानकारी दिएका छन् । साथै उषाको मृत्यु सम्बन्धी उजुरी नपरेको पनी प्रहरी प्रमुख रेग्मीले  बताएका छन् । 

उषाको शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ ।