काठमाडौं - भक्तपुरमा एक महिलाको शव टाउको छिनेको अवस्थामा फेला परेको छ। 

मध्यपुरथिमि नगरपालिका-४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएकी महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबर गरेकी जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए। दुई महिनादेखी हराएकी उक्त महिलाको कङ्काल जंगलमा भेटिएको उनले जानकारी दिए। कङ्कालमा भेटिएको लुगाका आधारमा शवको पहिचान गरिएको हो।

उक्त शव सूर्यविनायक नगपालिका-२, बालकोटस्थित बङ्गलामुखी बस्ने ६१ वर्षीय परमेश्वरी दाहालको रहेको परिवारले पहिचान गरेको छ। 

मृतककी छोरी जानुका दाहालले गत साउन १० गते आमा हराएको भन्दै प्रहरी वृत्त थिमिमा जाहेरी दिएका थिए। शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा पठाइएको जनाउँदै पाठकले घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताए।