काठमाडौं - काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित गैरीगाउँमा गए राति भएको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ।

यसअघि धनकुटाका २४ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको छ। उनी मध्यरातमा प्रहरीलाई खबर गर्न ट्याक्सी चढेर तीनकुने प्रहरी वृत्तमा पुगेको प्रहरीले जनाएको छ।

तीनकुनेस्थित दिव्य स:मिलभित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार तीन जना एकै परिवारका छन्।

हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा पालेको काम गर्ने वर्ष ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका २० वर्षका नविन राई रहेका छन्।

उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको पनि मैनालीले जानकारी दिए। अहिले प्रहरीद्वारा तालिमप्राप्त कुकुरसमेत लगी अनुसन्धान कार्य जारी रहेको छ।

चारै जनाको शव पोष्‍टमार्टमको लागि त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्‍ज लगिएको छ।

हत्याकाण्डको छानबिनका लागि प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको संयोजकत्वमा ५ सदस्यीय अनुसन्धान समिति गठन गरिएको छ। समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी प्रहरी नायव उपरीक्षक सुवास खड्का, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनका प्रहरी नायव उपरीक्षक सुरक्षा के.सी. र प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र के.सी. रहेका छन्। 

घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि र लगायतको अधिकतम प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरी यथाशिघ्र प्रतिवेदन पेश गर्न हुन अनुरोध गरिएको थापाले बताए।