काठमाडौं - केही दिनअघि एक महिला हतारिँदै उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगिन्। ह्वाट्सएपमा अपरिचित नम्बरबाट कल गर्ने व्यक्तिसँग कुरा गर्दा उनले एक हप्ताको अवधिमा १३ लाख गुमाएको सुनाईन्। प्रहरीका अनुसार अनलाइन ठगी गर्ने गिरोहको प्रलोभनमा पर्दा उनले उक्त रकम गुमाएकी हुन्।
प्रहरीका अनुसार अपरिचित नम्बरबाट आएको ह्वाट्सएप म्यासेजमा उनले कुराकानी गर्ने गरेकी थिइन्। कुराकानी बढ्दै जाँदा ती व्यक्तिले आफू युद्धमा जान लागेको आर्मी भनेर चिनाएका थिए। ती व्यक्तिले युद्धका क्रममा परिवार गुमाएको र आफ्नो एउटा खुट्टा पनि गुमाएको जानकारी दिएका थिए। निरन्तरको कुराकानी र फोटो भिडियो आदानप्रदान भइसके पछि ति व्यक्तिले बिमावापत आफूलाई निकै पैसा आएको बताएका थिए। उक्त पैसा नेपालकी साथी बनेकी उनै महिलालाई पठाउन लागेको उनले बताए। पैसा कुरियर गरेको फोटो पनि पठाए।
त्यसको केही दिनपछि ती महिलालाई भन्सार एजेन्टको फोन आयो। भन्सार एजेन्ट भन्दै फोन गर्ने व्यक्तिले उनको सामान छुटाउनका लागि पैसा लाग्ने भन्दै पैसा पठाउन आग्रह गरे। विदेशबाट पैसा आएको भन्दै ढुक्क भएकी ती महिलाले भन्सार एजेन्टले भनेको अकाउन्टमा पैसा पठाइदिइन्। पैसा पठाएपछि फोन गर्ने व्यक्ति र ह्वाट्सएपमा कुराकानी गर्ने व्यक्ति हराए।
दुबैजना सम्पर्कविहिन भएपछी ती महिलाको होश उड्यो अनि हतार हतार उनी अपराध अनुसन्धान कार्यालय पुगिन्। अनलाईन ठगीमा परेकी ती महिला आम मानिस नभएर सशस्त्र प्रहरीकी बहालवाला डीएसपी थिइन् । प्रहरीका अनुसार ठगी गर्ने व्यक्तिको खोजी भइरहेको छ। ठगीमा विदेशी नागरिक संलग्न भए पनि उसले प्रयोग गरेको खाता भने नेपाली व्यक्तिको रहेकोले खातावाललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
यसै घटनाले नेपालमा पछील्लो समय अनलाईन ठगीको धन्दा कती भयावह छ भनेर सजिलै अनुमान लगाउन सकिन्छ । यस्तै सामाजिक सञ्जालमा आएको सूचनामा भर पर्दा भक्तपुरका एक युवकको ३४ लाख रुपैयाँ ठगी भएको थियो। क्यानडा जाने भन्दै उनले अपरिचित व्यक्तिको खातामा ३४ लाख रुपैयाँ पठाएका थिए। केही दिनअघि ललितपुरका सुसन घिमिरे अनलाइन ठगी गरेको आरोपमा पक्राउ परेका थिए। उनले अनलाइनबाट चिठ्ठा परेको भन्दै ११ लाख रुपैयाँ ठगी गरेका थिए।
उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको तथ्याकंअनुसार आव ७८/७९ मा ६७१ जना व्यक्तिहरू अनलाइन ठगीमा परेका थिए। उनीहरूको १२ करोड ३६ लाख ४२ हजार ३५० रुपैयाँ विगो बराबरको रकम ठगी भएको थियो। आव ७९/८० मा यो संख्या बढेर १४५० पुग्यो। उपत्यका अपराध अनुसन्धान कार्यालयमा मात्रै एक वर्षमा १४५० अनलाइन ठगीका उजुरी दर्ता भए। पीडितहरूले दिएको जाहेरीका आधारमा २६ करोड ५६ लाख ७९ हजार २२७ विगो बराबरको रकम ठगी भएको उजुरी परेको थियो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौर भन्छन्, ‘चिठ्ठा परेको भन्दै प्रलोभनमा पर्ने, विश्वास गर्ने र पैसा गुमाउने ट्रेन्ड नै बनेको छ। सामान पार्सल, मोबाइल ल्यापटप खरिद बिक्री, फेसबुक आईडी ह्याक गर्ने, ईसेवाको आईडीबाट ठगी गर्नेलगायतका कार्य बढिरहेका छन्। अनलाइनबाट हुने ठगीमा सहभागी हुनेको संख्या ह्वात्तै बढेको छ। पीडितहरूले ठगी रकम फिर्ता नपाउने अवस्था छ। ’
उपत्यका अपराध अनुसन्धान कार्यालयले टेलिकमसँगको सहकार्यमा गत मंगलबारदेखि सूचनामूलक रिङब्याक टोन सुरु गरेको उनले जानकारी दिए। रिङब्याक टोनमा सामाजिक सञ्जालबाट प्रलोभन दिएर हुने ठगीका विषयमा जानकारीमूलक सन्देश राखिएको उनले बताए।
ठगीबाट बच्न नागरिक सचेत हुनु बाहेक अर्को कुनै उपाय नभएको राठौरको भनाई छ।


0 comment