काठमाडौं - सरकारले आगामी असोज ३ गतेदेखि सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालन गर्ने भएको छ।

काठमाडौं डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालनका लागि सूर्यविनायक–रत्नपार्क सडकखण्डमा डेडिकेटेड लेन छुट्ट्याउन रेड मार्क गर्न थालेको छ। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी ३ असोज गते संविधान दिवसका दिनदेखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए। मन्त्री ज्वालाको निर्देशनपछि सडक विभाग र यातायात व्यवस्था विभागले काम शुरु गरेका छन्। 

यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ वटा ठूला बसहरु तयारी अवस्थामा राखेको छ भने सडक विभागले डेडिकेटेड लेन बनाउन थालेको छ। तीन दिनभित्र रत्नपार्कदेखि सूर्यविनायकदेखि रत्नपार्कसम्म डेडिकेटेड लेन सक्ने गरी बिहीबार साँझदेखि काम थालिएको छ।

आगामी असोज १ गतेदेखि ‘द्रुत बस सेवा’ सञ्चालन गर्ने यसअघि तयारी थियो। तर वर्षाका कारण सडकको डेडिकेटेड लेनमा रेड मार्क गर्न सकिएको थिएन। विभागले दुई खण्ड बनाएर सडकको रेड मार्क थालेको छ। रत्नपार्कदेखि जडिबुटी र जडिबुटीदेखि सुर्यविनायकसम्म डेडिकेटेड लेन बनाउन थालिएको हो।

बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएपछि मन्त्री ज्वालाले द्रुत बस सेवाको अवधारणा ल्याएका थिए। यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवा भएपछि ‘द्रुत बस सेवा’का विषयमा केहि आशंकाहरु उब्जिएका थिए। 

अहिले बिहान र साँझ ‘द्रुत बस सेवा’ सञ्चालन गर्ने सरकारको तयारी छ।  बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म ‘द्रुत बस सेवा’ सञ्चालन हुनेछ।