काठमाडौं – अनुमति नलिई उपल्लो मुस्ताङ जाने दुई चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा, अन्दाजी ३०/३५ वर्ष उमेरका एक पुरुष र एक महिला रहेको प्रहरीले जानकारी दिएको छ ।
बिना अनुमति उपल्लो मुस्ताङ गएका ति दुई चिनीया नागरिक मुस्ताङको लोमान्थाङ गाउँपलिकास्थित छोसेर सशस्त्र प्रहरीको बिओपी क्याम्प नजिकै पक्राउ परेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतले जानकारी दिएका छन् ।
सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा अनुमति पत्र नलिएको पाइएपछि उनीहरु पक्राउ परेका हुन । सुरक्षाकर्मीले पक्राउ गरी दुबै चिनियाँ नागरिकलाई जिल्लामा बुझाएको छ । पक्राउ परेका चिनीया नागरिकलाई सुरक्षाकर्मीको रोहवरमा अध्यागमन विभाग काठमाडौं पठाएको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् । यस्तै अनुमति पत्र नलिई गएका एक भारतीय नागरिकलाई पनी प्रहरीले पक्राउ गरेको छ ।
उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकले अध्यागमन विभागबाट १० दिनका लागि ५ सय डलर शुल्क तिरेर प्रवेश अनुमति लिने व्यवस्था गरेको छ । उपल्लो मुस्ताङ जाने विदेशीले १० कटेर थप दिन बसेमा दैनिक ५० डलर अतिरिक्त शूल्क लिने व्यवस्था छ । नेपाल सरकारले उपल्लो मुस्ताङलाई सुरक्षा संवेदनशीलताका कारण नियन्त्रित तथा निषेधित क्षेत्र घोषणा गरेको छ ।

0 comment