काठमाडौं – एक किलो सुन तस्करीमा तरुण दलका नेता संलग्न रहेको र उनको दुवै गाडी प्रयोग भएको पुष्टि भएको छ । 

सोमबार विहान दुबईबाट हिमालयन एयरलाइन्सद्वारा काठमाडौं आईपुगेका काभ्रेका बाबुलाल दोङलाई विमानस्थलको सडक पेटीमा डुलिरहेका अवस्थामा शंका लागि चेकजाँच गर्दा मलद्वारमा लुकाई राखेको करिब एक केजी (९६० ग्राम) सुन प्रहरीले फेला पारेका थियो । साथै कालो टेपले बेरीएको अवस्थामा २ वटा लाम्चो र डल्लो सुन प्रहरीले बरामद गरेको थियो ।  

भन्सार छलेर अबैध सुन लुकाइछिपाइ ल्याएको भन्ने विशेष सुचनाका आधारमा तस्कर खोज्न जिल्ला प्रहरी परिसर काठमाडौँको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा ११ बजे पुगेको थियो । विमानस्थलको सडक पटीमा हिड्दै गरेका दोङलाई पक्राउ गरी सोधपुछ गर्दा सुन मलद्वारमा लुकएर ल्याएको खुल्न आएपछि उनी पक्राउ परेका थिए ।  

उनको बयानका अधारमा खोजतलास गर्ने क्रममा काठमाडौँको ढल्कुस्थित बिगमार्टको पार्किङमा अरु थप दुई व्यक्तिहरु पक्राउ परेका थिए । यसरी पक्राउ पर्नेमा काभ्रेकै ३३ वर्षका जगत लामा र सोह जिल्लाको महाभारत गाउँपालिका बस्ने ३६ वर्षका मिङ्मा दोर्जे स्याङ्तान रहेका प्रहरीले जानकारी दिएको छ । 

उनीहरूसँगै प्रहरीले सुन लिन प्रयोग भएको क्रेटा गाडी र बुलेट बाइक पनि बरामद गरेको थियो । दोर्जे र जगतसँगै बाग्मती प्रदेशको ०१–२७ प च ९९६० नम्बरको क्रेटा गाडी र बाग्मती प्रदेशकै ०२–०३० प ८५१७ नम्बरको बुलेट बाइक बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिएका छन् । 

प्रहरी उच्च स्रोतका अनुसार उक्त क्रेटा र बाइक दुवै कांग्रेस तरुण दलका नेता विकास लामाको खुलासा गरेको छ । विकास लामाको नाममा रहेको यी गाडी करिब एक किलो सुन तस्करीमा प्रयोग भएको प्रहरी स्रोतको दाबी छ । सुन तस्करीमा नेपाली कांग्रेसका जिल्ला नेताको सवारी साधन प्रयोग भएपछि राजनीतिक पहुँचका आधारमा सुन तस्करी गरिएको प्रमाण भेटिएको हो । गाडीको कागजात समेत विकासकै नाममा रहेकाले सुन उनकै हुनसक्ने अनुमान गरिएको छ । 

यता प्रहरी स्रोत भन्छ, विकास लामा प्रहरीको फरार सूचीमा छन् । उनको नामको सवारी साधन प्रयोग भएर सुन तस्करी गरिएको छ । तस्करीमा लामाकै संलग्नता भएको प्रमाण प्रहरीले फेला पारेको छ।  

पक्राउ परेका जगतले सुन आफ्नै भएको बताए पनि सम्पर्क विवरण र गाडीबाट यसमा विकास लामाको पनि संलग्नता रहेको खुलेको छ । नेपाली कांग्रेसका प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश प्रचार समिति सदस्यमा विकास लामालाई २०७९ कात्तिकमा मनोनित गरेका थिए । लामा काभ्रे काग्रेसको समानुपातिक उम्मेदवारमा सिफारिस भएका थिए । 

स्रोतका अनुसार विकास लामा आपराधिक पृष्ठभूमिका हुन् । उनी ज्यान मार्ने उद्योगमा ३ वर्ष जेल बसेर भीमफेदी कारागारबाट छुटेका थिए । कुनै पेसा व्यवसाय नभएका लामाको काभ्रे तथा काठमाडौंमा करोडौं रुपैयाँको सम्पत्ति छ । उनको अपराधमा उनको भाइ निरज लामाले समेत सहयोग गर्ने गरेको प्रमाण प्रहरीले फेला पारेको छ ।

सुनसँगै पक्राउ परेका बाबुलाल ५ पटक दुबई गएर आएको रेर्कड प्रहरीले फेला पारेको छ । उनी सामान्य परिवारका व्यक्ति हुन् । आर्थिक प्रलोभनमा परेर उनले यस अघि पनि सुन तस्करी गरेको अनुमान प्रहरीले गरेको छ । काठमाडौं परिसरका एसपी कुमोद ढुंगेलले यसबारे उनको विवरणको अनुशन्धान भईरहेको बताएका छन् ।