काठमाडौं – अत्याधिक रक्तस्राव हुँदा जाजरकोटको कुशे गाँउपालिकामा एक सुत्केरी महिलाको ज्यान गएको छ । बच्चा जन्माएको ६ घण्टासम्म पनि साल नझरेपछि उनको ज्यान गएको हो । 

यसरी ज्यान गुमाउनेमा, कुशे गाउँपालिका–७ समाईलाकी ४० वर्षीया जानुका नेपाली रहेको वडा सदस्य मानबहादुर विकले जानकारी दिएका छन् । 

बिहीबार बिहान ५ बजे नेपालीले घरमै छोरीको जन्म दिएकी थिइन् तर लामो समयसम्म साल नझरेपछि उनको दिउँसो ११ बजे मृत्यु भएको हो । उनका श्रीमान घरमा नभएको र घरका अरु परिवारले समयमा स्वास्थ्य संस्था लैजान नसक्दा घरमै सुत्केरी हुन बाध्य भएकी थिइन् । नाबालिका छोरीको अवस्था भने सामान्य रहेको छ ।