काठमाडौं – ५ हजार घुसहित सहायक वन अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–२ बुडरमा रहेको सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तराज गिरी रहेको प्रहरीले जानकारी दिएको छ । 

निजी आवादी जमिनबाट संकलित दाउराको छुट पुर्जी बनाउँदा स्थानीय व्यवसायी गणेश भण्डारीबाट पाँच हजार रकम लिँदै गरेको अवस्थमा स्थानीय बासिन्दाले उनलाई रङ्गेहात नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुडरको जिम्मा लगाएका हुन् । 

स्थानीय जयानन्द ओझाको लालपूर्जा भएको जमिनबाट कानुनी प्रक्रिया पूरा गरी संकलित दाउराको निकासीका लागि पटक–पटक छुटपुर्जी माग गर्दा पनी गीरीले दाउराको प्रति के.जी.का हिसाबले रकम माग गर्दै आएको एक स्थानीयले बताएका छन् । यस अगाडी पनी उनलाई रु १० हजार  दिईसकेको दाउरा व्यवसायी भण्डारीले बताए । त्यति गर्दा पनि सबै कर्मचारीलाई मिलाउनुपर्छ भन्दै फेरि रकम माग गरेपछि आज ५ हजार लिने क्रममा स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको उनले बताए । अधिकृत गिरीले बुडर क्षेत्रका स्थानीयलाई बेला–बेलामा अनावश्यक दुःख दिने गरेको स्थानीयहरुल्े आरोप लगाएका छन् । 

रङ्गेहात पक्राउ परेका गीरीलाई विस्तृत अनुसन्धानका लागि सोधपुछ गर्ने काम भइरहेको छ । साथै सहायक वन अधिकृत गिरीले छुटपुर्जीका लागि १५ हजार रुपैंया लिएको प्रहरी समक्ष स्विकार गरेको इप्रका बुडरका इञ्चार्ज नरभान साउँदले जानकारी दिएका छन् । रकम दिने व्यक्तिलाई पनि इप्रकामा बोलाइएको र दुवै पक्षबाट विस्तृत जानकारी लिई जिल्ला प्रहरी कार्यालयमा रिपोर्ट गरिने साउदले बताएका छन् ।