काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले करिब ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाउने पत्रकार सम्नेलनमार्फत जानकारी दिएको छ ।
पक्राउ परेकाहरुलाई थुनामा राख्ने हदम्याद सम्बन्धी प्रावधानका कारण सिआइबीले बुधबार अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने ब्युरोका प्रमुख एआइजी किरण बज्राचार्यले बताउनु भयो ।
पत्रकार सम्मेलनको क्रममा बोल्दै प्रमुख बज्राचार्यले यस्तो किसिमको सुन तस्करी गर्नेहरुको साम्राज्य ध्वस्त पारेको र अनुसन्धानको क्रममा आफुलाई कुनै किसिमको अप्ठ्यारो पर्ने दबाब नआएको बताउनु भयो।

४२ जना प्रहरी अधिकारी सम्मिलित अनुसन्धान टोलिले आरोपीहरु पक्राउ गरी अनुसन्धान सुरु गरेको आज ५७ दिन पुगेको छ । अनुसन्धान सुरु गरेको ६० दिनभित्र अदालतमा अभियोग दर्ता गरिसक्नु पर्ने प्राबधान छ । सीआईबीका अनुसार चिनियाँसहित ९ विदेशी र २३ नेपालि गरी ३२ जनालाई मुद्दा चलाउने गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गर्न लागिएको हो ।
यस प्रकरणमा हालसम्म ३२ जना पक्राउ परेका छन् जसमध्य २३ नेपाली ९ विदेशी रहेका छन् भने १८ जना फरार रहेकोमा १४ विदेशी र ४ नेपाली रहेका छन्। तस्करी भएका सुन हङकङबाट आएको र भारततर्फ पठाईएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक, भन्सार कर्मचारी, भन्सार एजेन्ट, सुन व्यापारी तथा बिचौलियाहरू छन्।
यस प्रकरणमा एलेक्स भनिने चिनियाँ नागरिक याओ फुचेनलाई मुख्य कारोबारी र तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई अवैध सुन गन्तव्यसम्म पुर्याउने मुख्य ब्यक्ती किटान गरेर प्रहरीले अनुसन्धान टुंग्याएको छ।
ब्युरोले ब्रेक सुको आवरणमा लुकाई भन्सार जाँचपासपछि बरामद भएको सुनलाई बजार मूल्यअनुसार आउने रकम बिगो कायम गरेर संगठित अपराध, राजस्व, भन्सार छली र नेपाल राष्ट्र बैंक ऐनविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्षसहित अनुसन्धान प्रतिवेदन बुझाउने जनाएको छ ।
गत साउन २ गते विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएको अवस्थामा राजश्व अनुसन्धान र नेपाल प्रहरीको टोलिले सिनामंगलबाट ठूलो मात्रामा अवैध सुन बरामद गरेको थियो।



0 comment