काठमाडौं – वीरगन्जको वीर्तास्थित बाल सुधार गृह रातभर तनावग्रस्त भएको छ ।
वीरगन्जको बाल सुधार गृहमा तीन हप्ता पहिले भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका १८ जना र यहाँ पहिलेदेखि बस्दै आएका बालकहरुबीच मंगलबार राति विवाद भइ झडप हुँदा सुधारगृह रातभर तनावग्रस्त बनेको हो ।
बालकबीच एक आपसमा झडप हुँदा ११ जना बालक र तीन जना प्रहरी घाइते भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिएका छन् । झडपमा भक्तपुरबाट ल्याइएका मध्ये १० समेत गरी घाइते भएका सुधार गृहका ११ जना बालकलाई मंगलबार राति नारायणी अस्पतालमा उपचार गराइ जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको उनले बताएका छन् ।
भक्तपुरबाट ल्याएर राखिएका बालकहरुले मंगलबार बेलुकी सुधार गृहका नाइकेसँग विवाद गरेर कुटपिट गरेपछि त्यही विषयमा यहाँ पहिलेदेखि रहेका र भक्तपुरबाट ल्याएर राखिएका बालकबीच विवाद भइ झडप भएको हो । त्यस क्रममा उनीहरुले सुधार गृहभित्र तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा सुधार गृहमा पुगेको थियो । तर सुधार गृह भित्रबाट बालकहरुले ढुङ्गामुढा गरेर प्रहरीलाई अबेर रातिसम्म पनि सुधार गृह भित्र छिर्न दिएनन् । त्यसै क्रममा ढुङ्गाले लागेर तीन जना प्रहरी पनि घाइते भएका प्रहरी उपरीक्षक शाहले बताए । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउण्ड अश्रु ग्याँस पनि प्रहार गरेका थियो ।
सुधार गृहका प्रमुख टिका काफ्लेका अनुसार एक महिना पहिले भक्तपुरको बाल सुधार गृहमा उत्पात मच्चाएकामध्ये १८ जना बालकलाई वीरगञ्जको बाल सुधार गृहमा ल्याएर राखिएको थियो । तर उनीहरुले यहाँ नबस्ने भन्दै विरोध जनाउँदै आएका थिए । त्यहीं विषयलाई लिएर उनीहरुले मंगलबार बेलुकी सुधार गृहका नाइकेसँग विवाद गरी कुटपिट गरेपछि सुधार गृह तनावग्रस्त बनेको प्रहरी उपरीक्षक शाहले बताएका छन् ।
यता सुधार गृहमा मंगलबार रातिदेखि प्रदर्शन गरिरहेका बालकहरुले भने सुधारगृहमा आफूहरुलाई खाना राम्रो नदिएको, घरमा फोन गर्दा एक कलको १ सय रुपैयाँ लिने गरिएको, एउटै कोठामा धेरै जनालाई कोचेर राखिएको, शौचालय पनि राम्रो नभएको, सुधार गृह प्रमुखले यातना दिंदै आएको जस्ता आरोप लगाएका छन् ।


0 comment