काठमाडौं - मेडिकलअगाडि मृतकको शव राखेर आफन्त र स्थानीयले प्रदर्शन शुरु गरेपछी मोरङको लेटाङ तनावग्रस्त भएको छ।
लेटाङ नगरपालिका-४ की अन्दाजी ३० वर्षीया विनिता तामाङको मृत्युको विषयलाई लिएर आफन्त र स्थानीयले प्रदर्शन गरेका हुन्।
तामाङलाई उपचारका लागि गत भदौ २२ गते शुक्रबार लेटाङ-४ कै जनप्रिय मेडिकलमा लगिएको थियो। सामान्य उपचारपछी घर फर्काइएकी तामाङको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि परिवारका सदस्यले सोमबार पुनः सोही मेडिकलमा पुर्याएका थिए। बिरामीको स्वास्थ्य खराब रहेको भन्दै मेडिकलले सुविधा सम्पन्न अस्पतालमा लैजानु भनेर रेफर गरिदियो। तामाङलाई थप उपचारका लागि सोमबार साँझ विराटनगरको विराट नर्सिङ होममा भर्ना गरियो र उपचारकै क्रममा मंगलबार बिहान ६ बजेतिर उनको मृत्यु भयो।
त्यसपछी, आफन्त र परिवारका सदस्यले शव लगेर मेडिकलअगाडि राख्दै प्रदर्शन र नाराबाजी शुरु गरेका हुन्। करिब २ सयको संख्यामा भेला भएका उनीहरुले मेडिकल तोडफोडको प्रयाससमेत गरेको प्रहरीले जनाएको छ।
समयमै रोग पत्ता नलगाएको र उपचारका नाममा झुलाउने काम गरेको भन्दै उनीहरु मेडिकलप्रति आक्रोसित बनेका हुन्। मेडिकल सञ्चालकलाई कारबाही हुनुपर्ने उनीहरूको माग छ।
स्थितिलाई नियन्त्रणमा लिन र अवस्था थप तनावग्रस्त हुन नदिन इलाका प्रहरी कार्यालय लेटाङ, पथरी एवं बेलबारीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने विराटनगरबाट समेत थप मद्धतका लागि प्रहरी पठाइएको छ।


0 comment