काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक संविधान निर्माण गर्न सुवासचन्द्र नेम्वाङले पु¥याएको योगदान सधैं सम्झिरहने बताएका छन् ।
मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो । लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पु¥याउनु भएको योगदान सधैं सम्झिरहने छौं ।
"पूर्वप्रधानमन्त्री ओलीले फेसबुकमार्फत भनेका छन्, मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! “उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । श्रद्धाञ्जली सुवासजी !”
एमाले उपाध्यक्ष एवम् संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान १ः४० बजे हृदयघातबाट निधन भएको हो ।
७० वर्षका सुवासचन्द्र नेम्बाङ २००९ साल फागुन २८ गते इलाम नगरपालिका–७ सुन्तलाबारीमा जन्मिएका हुन्। उनी अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरे। प्राध्यापन र कानुन व्यवसायसमेत अँगालेका नेम्बाङले राजनीतिलाई अघि बढाए। जो इलाम-२ बाट २०५६ देखि लगातार निर्वाचित हुँदै आएका छन्। त्यसअघि उनी राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए ।
उनी २०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री बने। त्यसपछि सामान्य प्रशासन र स्थानीय विकासमन्त्री भए। २०५६ सालमा इलाम—२ बाट निर्वाचित भए ।
उनी २०६३ वैशाख ३० देखि माघ १ गतेसम्म सभामुख बने। त्यसपछि त्यही साल माघ ३ देखि २०६५ जेठ १४ गतेसम्म उही जिम्मेवारी सम्हाले । २०६४ को संविधानसभा निर्वाचनमा इलाम—२ बाट निर्वाचित भए । २०६५ साउन १२ देखि २०६९ जेठ १४ सम्म र २०७० फागुन ६ देखि २०७२ असोज २७ गतेसम्म संविधानसभाध्यक्ष तथा सभामुख बने । उनले २०७० को दोस्रो संविधानसभा चुनाव पनि इलाम-२ बाट जिते । २०७४ र २०७९ को निर्वाचनमा पनि उही क्षेत्रबाट जित हासिल गरे । नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ फाल्गुनमा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार समेत बनेका थिए ।
बीए र बीएल पढाइ पूरा गरेका उनी पार्टीको कानुन समिति सदस्य, संसदीय दलका उपनेता हुँदै उपाध्यक्ष बनेका थिए । उनी २०५६ सालमा सार्वजनिक लेखा समिति सभापतिसमेत चयन भएका थिए । उनी राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानुन व्यवसाय (वरिष्ठ अधिवक्ता) मा थिए ।
पञ्चायतविरुद्धको आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षाअन्तर्गत नजरबन्दमा परेका थिए । नेम्बाङ राजकाज मुद्दामा सात महिना जेल परे। उनी प्राध्यापक संघमा पनि सक्रिय थिए। नेम्बाङ नेपाल बार एसोसिएसनका महासचिव पनि भए । राज्यबाट उनलाई संविधानसभा पदक, राष्ट्र गौरव पदक प्राप्त छ ।


0 comment