काठमाडौं – अबिरल बर्षाका कारण बझाङ जिल्ला जोड्ने जयपृथ्बी राजमार्गमा पहिरो जाँदा आवत जावत ठप्प भएको छ । 

आइतबार दिउँसो १ बजे राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठुलो ढुंगा खसेर सडक अवरुद्ध भएको थियो । आइतबार दिउँसो गएको पहिरो हाल सम्म पनि नपञ्छाएका कारण आवत जावत ठप्प हुँदा यात्रु अलपत्र परेका छन् ।

आइतबार दिउँसोदेखि नै राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र त्यसतर्फ जाने ठूला गाडीहरु रोकिएका छन् । यस्तै दशरथ चन्द राजमार्गको सतबाँझ–गोठला पानी सडकखण्डको गुरुखोला नजिक सडकमा रुख खस्दा अवरुद्ध भएको छ ।

खोडपेबाट पठाएको जेसीबीले ढुंगा फुटाउन नसकेपछि बझाङबाट ठुलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिएका छन् ।