काठमाडौं - वीरगन्जमा बिदाको दिन अनुमति नलिई चलिरहेका ४३ सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ। 

शनिबार बिदाको दिन इजाजत नलिई चलाइएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी समेतको गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सहयोगमा राष्ट्रिय युवा संघ नेपालका नेता कार्यकर्ताले नियन्त्रणमा लिएका हुन्।

प्रमुख जिल्ला अधिकारीको गाडीसहित तीनवटा चार पाङ्ग्रे गाडी र ४० वटा मोटरसाइकल नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरीको जिम्मा लगाइएको हो। प्रमुख जिल्ला अधिकारीको गाडी भने पास लिएर आउने शर्तमा फिर्ता पठाइएको थियो।

बिदाको दिन पनि सरकारी सवारी साधन दुरुपयोग हुने गरेको पाइएपछि युवाहरूले खबरदारी स्वरूप सवारी साधन नियन्त्रणमा लिने अभियानको थालनी गरिएको हो।