काठमाडौं - सर्लाहीको सदरमुकाम मलंगवा तनावग्रस्त बनेको छ।
शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप भएपछी मलंगवा बजार क्षेत्र अशान्त बनेको हो। झडप रोक्न प्रहरीले १६ शेल अश्रुग्याँस र एक राउण्ड हवाइ फायर गरेको थियो। मध्यरातबाट अवस्था सामान्य भए पनि शनिबार बिहानबाट अवस्था तनावग्रस्त बनेको छ। आक्रोशित युवाहरू बिहानदेखि चौक चौकमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन्।
स्थितिलाई नियन्त्रणमा लिन मलंगवा बजार क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बेलाबेलामा अश्रुग्याँस प्रहार गरिरहेको छ।
नगरपालिका चोक, मुख्य बजार क्षेत्रसहित भित्री बस्तीहरुमा समेत प्रदर्शन र ढुंगामुढा भइरहेकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परिरहेको छ। मलंगवा बजार आज ठप्प छ।
सम्पूर्ण पसल, व्यवसाय बन्द छन् भने मानिसको चहलपहल न्यून देखिन्छ। यातायातका साधन चलेका छैन। बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले धार्मिक, जातीय, सांस्कृतिक सद्भाव कायम राख्न अपिल गरेको छ।
अवस्था तनावग्रस्त बनेपछि सर्लाहीमा कर्फ्यु जारी गरिएको छ। शनिबार बेलुका ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।


0 comment