काठमाडौं - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पहिलोपटक व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको छ । 

चार्टरको रूपमा भुटानको ध्वजाबाहक जहाज ड्रुक एयर राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६:४० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो। ४२ यात्रु बोकेर उक्त जहाज ८:१५ बजे थिम्पु फर्किएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, पर्यटन व्यवसायीलगायतले पोखराबाट थिम्पु जान लागेका पर्यटकलाई विमानस्थलमा खादा तथा माला लगाएर बिदाइ गरेका थिए ।

भारत, नेपाल र भुटान घुम्ने गरी आएका अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन् । जहाज भारतीय एजेन्सीले चार्टर गरेका थिए ।

विमानस्थल सञ्चालनमा आएको आठ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको पोखरा विमानस्थलले जनाएको छ । गत पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पोखरा विमानस्थलको उद्घाटन गरिएको थियो । 

सञ्चालनमा आए पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमितरुपमा अन्तर्राष्ट्रिय उडान अझै हुनसकेको छैन । विमानस्थल आन्तरिक उडानमा सीमित छ । 

यसअघि चीनको सिचुआन एयरलाइन्सले पोखरामा पहिलो चार्टर उडान गरेको थियो ।