काठमाडौं – भारतिय तीर्थयात्री बोकेको बस जितपुर सिमरा उपमहानगरपालिका–२२  चुरियामाई नजिक दुर्घटना हुँदा ७ जना तीर्थयात्रीको ज्यान गएको छ । प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस पशुपतिनाथको दर्शन गरी जनकपुर जाँदै गर्दा रातीको २ बजेतिर चुरियामाई अगाडि दुर्घटना भएको हो । दुर्घटनामा भारत राजस्थानका ६७ बर्षिय बहादुर सिंह, ६५ बर्षकी मीरादेवी र महोत्तरी लोहरपटीका ४१ बर्षिय विजयलाल पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

तीब्र गतिका कारण बस दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । बसमा सवार २६ जनामध्ये ३ जनाको घटनास्थलमा र ४ जनाको भने उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता दधिराम ज्यौपानेले जानकारी दिनु भयो । मृत्यु हुनेमा ५५–६० बर्ष उमेरकी एक महिला, अन्दाजी ६५–७० बर्षका एक पुरुष, परिचय नखुलेकी अर्की ५५–६० बर्षकी एक महिला र ६५ बर्षीय एक महिलाको भने परिचय खुल्न सकेको छैन । घाइते यात्रुहरुको भने मकवानपुरको हेटौडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।