काठमाडौं - उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने बताएका छन्।

गोरखाको अजिरकोट गाउँपालिका-२ स्थित भच्चेक आधारभूत अस्पतालको उद्घाटन गर्दै उनले सरकारको सुशासन अभियानविरुद्ध ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरूले घेराबन्दीमा पार्न खोजिरहेको बताउँदै त्यस्ता धम्कीबाट आफू नडराउने, अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने, सुशासनको अभियान कुनै हालतमा नरोक्ने बताए।

‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौं भनेर कसैले नसोचे हुन्छ। हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौं। जुन दिनसम्म सरकारमा रहन्छौं, यो सुशासनको अभियान रोकिंदैन', उनले भने। नागरिकलाई छिटो र चुस्त सेवा दिएर तथा दण्डहीनता अन्त्य गरेर नै सुशासनको थालनी हुने उनले बताए। 

राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक परिवर्तनसँग जोड्नुपर्ने र त्यसका लागि सामाजिक न्यायसहितको समृद्धि सबै तहका सरकारको प्राथमिकता हुनुपर्ने र प्रधानमन्त्री प्रचण्डको मुल ध्येय पनि यही रहेको उनले बताए।