काठमाडौं - काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकामा चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक तौथली गाउँपालिका–७ घर भई हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका–४ पासिकोट बस्ने ३२ वर्षीय सुमन भन्ने विष्णु श्रेष्ठ र मकवानपुर थाहा नगरपालिका–९ घर भई हाल काठमाठौँ महानगरपालिका–२६ ठमेल बस्ने ४५ वर्षीय विकास देउला रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी पउरीक्षक मिलन केसीले जानकारी दिनु भयो। 

केसीका अनुसार यही साउन ६ गते राति बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँस्थित सुजन श्रेष्ठको घरबाट रोलेक्स, राडो तथा ओमेगा घडी, सुनका र हिराका विभिन्न गरगहना तथा नगद लगायत अन्दाजी मूल्य रु ८५ लाख २६ हजार नौ सय बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानका क्रममा उक्त चोरी भएको धनमाल पासा भन्ने विकास पोडेको साथमा रहेको भन्ने खुलेपछि निजलाई ठमेलबाट पक्राउ गरिएको हो। 

यसैगरी पोडेलाई पक्राउ गरी थप अनुसन्धान गर्दा उक्त चोरी गर्ने कार्यमा हाल प्रहरी वृत्त, मालिगाउँमा अभद्र व्यवहार कसुरको अनुसन्धानको सिलसिलामा थुनामा रहेका सुमन भन्ने विष्णु श्रेष्ठको संलग्नता रहेको खुल्न आएको हुँदा निज पासा भन्ने देउलालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको प्रवक्ता केसीले बताउनु भयो। 

साथै निज सुमन भन्ने विष्णु श्रेष्ठलाई यसअघि काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालयबाट चोरीलगायत ६ वटा मुद्दा चलेको अभिलेखबाट देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।