शास्त्रदत्त पन्त,

    नेपाल भारत सम्बन्धलाई केलाउन (क) भूराजनीति (Geo-Pilitics), (ख) संस्कृतिक र संस्कार (Culture and Traditions) र (ग) भारत नेपाल आर्थिक स्थितिका आधारमा हेर्नुपर्ने हुन्छ । एकिकृत नेपालको हिजोको कुरा गर्दा नेपाल आर्थिक, सामाजिक दृष्टिकोणले सुसम्पन्न र सुसभ्य भएको पाइन्छ । आजभन्दा तीन/चार सय बर्ष पहिलेसम्म नेपाल विश्वका धनी देशमा गनिएको थियो, सुशिक्षित, सुसंस्कृत र सुसभ्य देशको रुपमा चिनिएको थियो । तर आज नेपाल विश्वका गरिब र अति कम विकसित देशमा परेको छ । 

   नेपालका आफ्नै प्रविधि र सीप यति धेरै छन् कि तिनको सही सदुपयोग गर्न सकेको भए चीन र भारतलाई उहिल्यै उछिनेको हुने थियो । तर नेपालको स्थायित्व प्राप्त गर्ने पद्धति जोगाउन सकेन । पहिले बेलायतको र पछि भारतीय नेताको पछि लागेर सामान्य गतिमा हिँडिरहेको नेपालको आर्थिक गतिमा अवरोध पुर्‍याइयो । आठ पटक त विदेशीको लहैलहैमा संविधान नै फेरियो । नेपालपछि पर्नुमा आफ्नोपन छाड्नु र विदेशीको गुरु हुन छाडेर विदेशीलाई मालिक मान्ने दलहरुको स्वभावले हो । 

   आज तल्लो स्तरका श्रमशक्ति र उच्च स्तरका विज्ञ पनि पश्चिमतिर पलाएन भएका छन् । राष्ट्रलाई सहारा दिने आशयले मुलुकले उत्पादन गरेका योग्य नेपालीहरुले धनी देशलाई योगदान दिन पुगेका छन् । तिनले पश्चिमी संस्कार बोकेर मातापितालाई बृद्धगृहमा बस्न बाध्य पारेका छन् । तिनले पश्चिमी संस्कार बोकेर मातापितालाई बृद्धगृहमा बस्न बाध्य पारेका छन् । यो पश्चिमाको गरीब देशलाई उन्नत हुनबाट रोक्ने तरिका हो । यो पश्चिमाको संस्कार लदान गर्ने तरिका पनि हो । यो नियतले नेपाल उन्नत हुनबाट रोकिन्छ, बहुराष्ट्रिय कम्पनीलाई कमाउन र अ.गै.स.स.लाई सभ्यता मास्न सहज बनाइदिएको छ ।