काठमाडौं - झापा प्रहरीले मेची भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको कन्टेनरबाट एक करोड मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।
सरकारले राजश्व संकलनमा गिरावट आएको भन्दै साउन १ गतेदेखि भारतबाट आयातित १०० रुपैयाँभन्दा बढीको जुनसुकै सामनमा अनिवार्य भन्सार तिर्नुपर्ने नियम लागू गरेको छ। तर भन्सारबाट जाँचपास भएर निस्किएको एउटा कन्टेनरभित्र भन्सार तिरेको भन्दा बढीको सामान प्रहरीले बरामद गर्यो ।
घटना शुक्रबार साँझको हो। मेची भन्सार कार्यालयको दुई नम्बर गेटबाट ना ६ ख ४९०२ नम्बरको कन्टेनर बाहिर निस्कियो। भन्सार तिरेको भन्दा बढीको सामान आएको सुचना पाएको प्रहरीले कन्टेनरलाई पच्छ्यायो। प्रहरीले पिछा गरेको थाहा पाएपछी चालकले कन्टेनरलाई मेचीनगर–६ स्थित ट्राफिक पोस्ट नजिकैको सडक किनारमा पार्किङ गगरे फरार भए। दुई घण्टा बितिसक्दा पनि चालक नआएपछि त्यहाँका खटिएका प्रहरीले इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी दीपक भारतीलाई कन्टेनर भएकै स्थानमा बोलाए। त्यसपछि डीएसपी भारतीको नेतृत्वमा प्रहरीले कन्टेनरलाई राती ९ बजे नियन्त्रणमा लियो।
कन्टेनरको चालक बस्ने सिटमा प्रहरीले स्वाभिमान सन्स् एन्ड सप्लायर्स कम्पनीको नाम उल्लेखित भन्सार प्रज्ञापन पत्र भेट्टाएको थियो। सो प्रज्ञापन पत्रमा भन्सार एजेन्ट ढकेन्द्र कार्कीको नाम लेखिएको छ। प्रज्ञापन पत्रमा १५ ब्याग, २५ कार्टुन र ३० कार्टुन वस्तु लेखिएको छ तर कन्टेनरभित्र १६५ कार्टुन र दुई हजार ४६५ केजी ब्याग फेला परेको छ।
कन्टेनर नियन्त्रणमा लिए पनि सामानको दाबी गर्न कोही सम्पर्कमा नआएपछि प्रहरीले शनिबार बिहान खोलेर चेकजाँच गर्यो। कन्टेनरमा ७२ हजार मूल्यको ६० कार्टुन कोको जिल, २० लाखको ८० कार्टुन हुक्कामा प्रयोग हुने अफजल फ्लेभर, ७३ लाख ९५ हजार बराबरको दुई हजार ४६५ केजी काँसको झाम्टा र १२ हजार ५ सयको २५ कार्टुन लुगा धुने तेलीफोन साबुन थियो।
एक करोड १ लाखको सामान र २० लाखको कन्टेनरसहित एक करोड २१ लाख २७ हजार ५ सय मुल्य तोकेर आवश्यक कारबाहीका लागि कन्टेनर इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको डीएसपी रिजालले बताए। प्रज्ञापन पत्रमा लेखिएको भन्दा धेरै सामान फेला परेपछी घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको डीएसपी रिजालले बताए।


0 comment