काठमाडौं - हास्य कलाकार मनोज गजुरेलले चलचित्र ‘ककाकिकी’को प्रचारका क्रममा गरिएको प्रस्तुतिले दर्शकमा भ्रम सिर्जना गरेको भन्दै माफी मागेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गजुरेलले चलचित्रका लागि खिचिएको दृश्य तथा प्रचारात्मक प्रस्तुतिका कारण दर्शकमा भ्रम उत्पन्न भएकोप्रति दुःख व्यक्त गरेका हुन्।

उनले आफू व्यक्तिगत रूपमा सस्तो प्रचारभन्दा सिर्जनाको गुणस्तर र दर्शकको विश्वासलाई प्राथमिकता दिने व्यक्ति भए पनि अघिल्लो दिनको प्रचारात्मक प्रस्तुतिमा सहभागी हुन पुगेको स्वीकार गरेका छन्। उक्त प्रस्तुतिबाट दर्शकमा पर्न गएको भ्रम र असुविधाप्रति उनले क्षमायाचना गरेका छन्।

समाजको मनोविज्ञान संवेदनशील रहेको अवस्थामा मनोरञ्जनका नाममा अनावश्यक भ्रम सिर्जना गर्नु उचित नभएको उनको भनाइ छ। प्रचारप्रसारमा सिर्जनशीलतासँगै सामाजिक जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण हुने उनले उल्लेख गरेका छन्।

नियत राम्रो हुँदाहुँदै पनि कहिलेकाहीँ निर्णयमा त्रुटि हुन सक्ने भन्दै गजुरेलले त्यस्ता गल्ती स्वीकार गरी सुधार गर्नु सर्जकको दायित्व भएको बताएका छन्।

साथै, चलचित्र धेरै कलाकार तथा प्राविधिकको सामूहिक मेहनतबाट निर्माण हुने भएकाले प्रचारको कुनै एउटा प्रक्रिया वा शैलीका आधारमा समग्र सिर्जनाको मूल्याङ्कन नगरिदिन उनले दर्शकसँग आग्रह गरेका छन्। उक्त चलचित्रको प्रमोसनका क्रममा शनिबार गौरी मल्ल, मनोज गजुरेल लगायतका कलाकारहरुलाई कार्यक्रम स्थलमा प्रहरी प्रवेश गरी उनीहरुलाई नियन्त्रणमा लिएर गाडीमा हालेर लगेको दृष्य देखाएर सनसनीपूर्ण ढंगले प्रचार गरिएको थियो ।