नेपालको समग्र राजनीति यतिबेला अन्तराष्ट्रि शक्ति केन्द्रहरुको वरपर घुमिरहेको देखिएको छ । झट्टहेर्दा सामान्य अवस्था देखिए पनि नेपालप्रति आवश्यकता भन्दा बढी चासो राख्ने भारत, अमेरिका र बेलायतको चलखेलले गर्दा यहाँको राष्ट्रिय राजनीतिमा भित्रभित्रै भुसको आगोझै अन्तराष्ट्रिय प्रभाव सल्कँदै गएको अवस्था छ । नेपालको राजनीतिमा खासे चासो नराख्ने र जुन तथा जेजस्तो सरकार आएपनि निरन्तर सहयोग गर्दै आएको छिमेकी चीन पनि भारत, अमेरिका र बेलायतको बढ्दो चासोको कारण नेपालको राष्ट्रिय राजनीतिमा तानिन पुगेको देखिन्छ । त्यसैले उसले नेपालका लागि सक्दो आर्थिक सहयोग मात्र नगरेर आफ्ना समुद्रि नाकाहरुसम्म नै नेपालको पहुँच पुर्याउने काम गरेको छ ।
भारत, अमेरिका र बेलायतका नेपालप्रतिका चासोहरु पनि फरक फरक रहेका छन् । तर, उनीहरु खासगरी चीनको मामिलामा एक भएको देखिएको छ । त्यसैले तीनैथरी शाक्ति राष्ट्रहरु नेपालमा आफ्नो उपस्थिति बलियो बनाउन र चीनलाई घेराबन्दी गर्न तिर लागेका छन् । त्यसेका लागि उनीहरुले नेपालको असंलग्न विदेश नीतिको बेवास्ता गर्दै भारतसँग मिलाउने कुरा गरेका हुन् । तर, त्यो पनि संभव भैहरेको छैन । अन्तराष्ट्रिय राजनीतिक रंगमञ्चमा भारतले सदियौदेखि नै आफुलाई नेपालको ठूल्दाईका रुपमा प्रस्तुत गर्दै आएको थियो ।
नेपालका खासगरी नेता र केही माओबादीहरुले भारतसँग नेपालको विशेष सम्बन्ध हुनुपर्छ भन्ने गरेपनि प्रधानमन्त्रि केपी ओलीले अन्तराष्ट्रिय मञ्चहरुमार्फत नेपाल भारत भन्दा पनि पुरानो स्वतन्त्र र सार्वभौमसत्ता सम्पनन मुलुक भएको बताउँदै त्यसको पटक पटक ब्याख्या र बिश्लेषण गर्नु भएपछि अन्तराष्ट्रिय क्षेत्रको नेपाललाई हेर्ने दृष्टिकोणमा केही बदलाव आएको महशुुस गरिएको छ । प्रम ओलीले स्पष्टरुपमै नेपालको परराष्ट्र नीति भारतसँग मिलाउन नसकिने र यो असंलग्नतामा आधारित हुने बताउनु भएपछि खासगरी अमेरिका र बेलायत नयाँ ढंगले सोच्न बाध्यभएको अवस्था छ । तर, अझैपनि उनीहरुको प्रयास दक्षिण एशियामा भारतलाई हातमा लिएर नेपाल लगाएतका साना राष्ट्रमा प्रभुत्व जमाउनेमै केन्द्रित रहेको देखिन्छ । जसको ताजा प्रमाण भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीको हालैको अमेरिका भ्रमण र त्यहाँ उहाँप्रति गरिएको आतिथ्यलाई लिन सकिन्छ । नेपालप्रति खासगरी भारत, अमेरिका र बेलायतले आवश्यकता भन्दा बढी चासो राख्नुका मुख्य त दुईवटा कारणहरु रहेका छन् । पहिलो कारण चीनलाई घराबन्दी गर्ने हो । नेपालले एक चीन नीतिलाई मान्दै आएपनि दलाई लामाका कारण यहाँ पनि बेलाबखत स्वतन्त्र तिब्बतको नारा लाग्ने गरेको छ ।
हाल भारतको निर्वासनमा रहेका दलाई लामालाई नेपालमा राख्न भरमग्दुर प्रयास भएको थियो । तर, नेपालले अस्वीकार गरेपछि उनलाई भारतमा शरण दिएको हो । यद्यपि साथ सहयोग भने अमेरिका र बेलायतकै रहेको छ । धर्मका हिसावले दलाई लामा बौद्ध धर्मावलम्बी भएका कारण कारण अमेरिका, बेलायत र भारत कसैसँग पनि स्वार्थ मिल्दैन । तर, चीन बिरोधी गतिबिधि गर्नका लागि उनीहरुले लामालाई साथ सहयोग दिदैआएका छन् । अमेरिका र बेलायतले त नेपालमा समेत हिन्दू र बौद्धलाई जुधाएर क्रिष्चियन बनाउने अभियान पनि चलाएका छन् । जसले गर्दा दलाई लामा उनीहरुको हतियार बनेको स्पष्ट हुन्छ ।
नेपालले औपचारिकरुपमा एक चीन नीतिको अनुशरण गरे पनि यहाँका प्रायः राजनीतिक पार्टीका केही नेताहरुका लागि स्वतन्त्र तिब्बतको मामिला कमाउ धन्दा बन्ने गरेको देखिन्छ । कहिले उनीहरु दलाईलामालाई घेट्न भारत पुग्छन् भने कहिले लामाका चेलाहरुको नेपालमै संरक्षण गर्ने काम पनि गर्दछन् । पछिल्लो समयमा खासगरी भारतमा काँग्रेस आईको पतनपछि भाजपाले चीनसँग सम्बन्ध सुधारको प्रयास गर्दैआएको देखिन्छ । उसले खुलेर नभने पनि स्वतन्त्र तिब्बतकोृ गतिबिधिलाई खासै सघाउको देखिएको छैन । त्यसै भएर होला कुनै समय भारतको शरणमा रहेका दलाई लामा अमेरिका पलायन हुने कुराहरु पनि आएका थिए ।
भारतले एक चीन नितिलाई मान्ने तयारी गरिरहँदा नेपाल लगायत अमेरिका र बेलायतमा समेत दवाव सिर्जना भएको छ । त्यसैले अमेरिका र बेलायत नेपालमा खुलेर आफ्नो उपस्थिति जनाउन सकिरहेको छैनन् । बेलायतले यहाँको प्राकृतिक श्रोतका कारण सदियौ पहिलेदेखि आँखा लगाउँदै आएको हो । त्यसैका लागि उसले कुनै बेला नेपालमा सशस्त्र हमलाको पटक पटक प्रयास गरेको थियो भने पटक पटक सहयोग गर्ने प्रयास पनि गर्दै आएको छ । त्यसैका लागि उसले नेपालमा सबैभन्दा पहिले कुटनीतिक सम्बन्ध पनि गाँसेको थियो । बेलायतसँगै अमेरिकाले पनि नेपालमा आफ्नो चासो राखने गरेको हो ।
पृथ्वीनारायण शाहको नेपालको एकीकरण अभियानलाई असफल बनाउन बेलायतले त्यतिबेला नै पनि प्रयास नगरेको होइन । तर, पटक पटक पराजित भएपछि र खासगरी नेपालबाट क्रिष्चियनहरुलाई देश निकाला गरिएपछि बेलायत भित्रभित्रै नेपालसँग बदला लिने दाउमा रहेको देखिन्छ । ०६३ को नेपालको राजनीतिक परिवर्तनमा भारत, अमेरिका र बेलायत एकै ठाउँमा आएर तत्कालीन सात दल र माओवादीका बीचमा १२ बुँदे सहमति गराउँदै उलटफेर गराउनुको कारण पनि त्यही नै हो । बेलायतले नेपाललाई धर्मनिरपेक्ष गराएर क्रिष्चियनहरुलाई प्रबेश गराएको छभने जातीत पहिचानको मुद्धा अगाडि बढाएर पृथ्वीनारायण शाहको राष्ट्रिय एकीकरण अभियानलाई भंग गराउने प्रयास पनि जारीराखेको देखिन्छ । जसका लागि नेपालकै केही पार्टी, समूह र व्यक्तिहरुलाई ठूलो धनरासि खर्च गरेर परिचालन गरिएको छ ।
पछिल्लो समयमा चीनले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई), अमेरिकाले इन्डो पयासिफिक स्ट्रटेजी र भारतले पाकिस्तान बाहेकका दक्षिण एशियाका राष्ट्र समेटेर अलग संगठन (बिम्ष्टेक), अलग सैनिक अभ्यास गराउने प्रयास गरेर खिचातानी बढाएका छन् । जसमा नेपाल एक पक्षमा नलागी नहुने अवस्था सिर्जना हुँदैगएको छ । यसका अलावा भारतले गणतन्त्र नेपालको नयाँ संविधानमा संशोधन गराएर नेपालको तराई र पहाड तथा हिमाललाई पूरै अलग गराउने र अन्तत नेपालको तराईलाई आफुमा मिलाउने राणनीति पनि अगाडि सारेको छ । त्यसैका लागि नेपालको प्रदेश दुईलाई पूरै तराईका भूभाग मात्र समेटेर बनाइएको छ र त्यसका केही पार्टीहरु हरेक कुरामा निहँु खोज्ने काममात्र गरिरहेका छन् ।
कुनै समय एक मधेश प्रदेशको कुरा ल्याउने र छुट्टिएर जान पाउने आत्मनिणर्यको अधिकार सहितको संघीय शासनका कुराहरु पनि ल्याइएका थिए । जुन मुद्धा आज पनि भित्रभित्रै कायम नै देखिएको छ । नेपाललाई नाकाबन्दी लगाएर र नेपालको तराईका मधेशी दलहरुलाई उचालेर दुख दिने कामहरु पनि भएका थिए । पछिल्लो समयमा भारतले नेपाललाई हिन्दूराष्ट्र बनाउन दवाव दिएको गलत प्रचार गरेर केही ब्यक्ति र समूहहरुले भारतप्रतिको नेपालीहरुको बिरोधलाई मत्थर बनाउने प्रयास पनि गरेका छन् । तर, भारतले नेपालमा हिन्दूराष्ट्र बनाउन नसक्ने र सहयोग नगर्ने कुरा उसको अन्तराष्ट्रिय थठनजोड, सम्बन्ध र बिगतका कतिपय घटनाक्रमहरुले स्पष्ट गरेका छन् । छिमेकी चीनले नेपाललाई साथ नदिएको भए यतिबेला नेपालको भूगोल नै परिवर्तन भै सकेको हुने थियो । नयाँ घटनाक्रमहरु अझ कसरी विकासित हुँदै जान्छन् त्यो हेर्न बाँकी नै छ । यी सबै घटनाक्रहरु नेपालका केही राजनीतिक पार्टीका केही नेताहरु विदेशीका चाटुकार भएकाले घटेका हुन् । त्यसैले नेपलमा भैरहेको विदेशी हस्तक्षेप प्रमुख समस्याका रुपमा रहेको छ । नेपालजस्तो सानो मुलुकमा विश्वका ठूला शक्ति राष्ट्रहरुले आाँख लगाउनु कम खतर्नाक र बिचारणिय कुरा होइन र यसबारे सम्पूणर् देशभक्त शक्ति एक भएर छलफल चलाउनु पर्ने देखिएको छ । नेपालीहरुले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डता जोगाउनका लागि गंभिर बन्नुपर्दछ । आजका सन्दर्भमा नेपालका लागि असंलग्न परराष्ट्रनीति, राष्ट्रिय मेलमिलाप, राष्ट्रिय एकता र नेपाललाई शान्तिक्षेत्र बनाउने जस्ता कुराहरु सबैभन्दा महत्वपूणर् हुन् । जसप्रति आम नेपालको ध्यान जानु आवश्यक छ ।
डा. केशव देवकोटा

0 comment