काठमाडौं - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा आयोजना गरेको तीनदिने फोटोपत्रकारिता तालिम सम्पन्न भएको छ ।

असार १९ देखि २१ गतेसम्म काठमाडौँको थापाथलीस्थित द ब्रिटिस कलेजमा सञ्चालित तालिममा देशका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटोपत्रकार, पत्रकार तथा फोटोग्राफीमा रुचि राख्ने ६० जनाले सहभागिता जनाएका थिए । कार्यक्रम संयोजक तथा संस्थाका महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।

तीनदिने तालिममा फोटोपत्रकारको व्यावसायिक क्षमता अभिवृद्धि, क्यामरा सञ्चालन तथा सेटिङ, समाचार तस्बिरको गुणस्तर सुधार, फिल्ड रिपोर्टिङ, फोटो क्याप्सन लेखन, प्रकाश व्यवस्थापन, फोटो सम्पादन र दृश्य कथन (भिजुअल स्टोरीटेलिङ) सम्बन्धी सीप विकास गराइएको थियो । साथै फोटोपत्रकारिताको नैतिकता, उत्तरदायित्व र आधुनिक डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबारे पनि प्रशिक्षण दिइएको थियो ।

तालिम समापन समारोहमा संस्थाका पूर्वअध्यक्ष तथा वरिष्ठ फोटोपत्रकार मिनरत्न वज्राचार्य प्रमुख अतिथिका रूपमा सहभागी भएर प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरे । उनले यस्ता सीपमूलक तालिमले फोटोपत्रकारको व्यावसायिक दक्षता, सिर्जनशीलता र जिम्मेवारीबोध बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

सहभागीहरूले सैद्धान्तिक कक्षासँगै व्यावहारिक अभ्यास, समूह छलफल र फिल्ड फोटोग्राफीमा सक्रिय सहभागिता जनाएका थिए । अन्तिम दिन सहभागीले खिचेका तस्बिरको समीक्षा र मूल्याङ्कन पनि गरिएको थियो ।

संस्थाका अध्यक्ष प्रदीपराज वन्तले यस्ता क्षमता अभिवृद्धिका कार्यक्रमले नेपाली फोटोपत्रकारिताको गुणस्तर सुदृढ बनाउन सहयोग गर्ने बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।

कार्यक्रम निर्देशक लेखबहादुर श्रेष्ठ ‘सागर’ का अनुसार तालिमले सहभागीको ज्ञान, सीप र व्यावसायिक दक्षता अभिवृद्धिमा उल्लेख्य योगदान पुर्‍याएको छ । उनले आगामी दिनमा कृत्रिम बुद्धिमत्ता (एआई), ड्रोन फोटोग्राफी, भिडियोग्राफी र एडभान्स फोटोग्राफीसम्बन्धी तालिमहरू अझ व्यापक सहभागितासहित सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।

तालिम सफल पार्न सहयोग गर्ने सूचना तथा सञ्चार मन्त्रालय, द ब्रिटिस कलेज, प्रशिक्षक, अतिथि, सहभागी र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति एनएफपिजे नेपालले आभार व्यक्त गरेको छ ।