काठमाडौं - मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको सुरक्षाको लागि भन्दै उपत्यकाको सवारी व्यवस्थापनको काममा खटिँदै आइरहेको १७ सय ट्राफिक प्रहरी मध्य १४ सय प्रहरीलाई देशको विभिन्न स्थानमा खटाइँदा उपत्यकाको ट्राफिक व्यवस्थापनमा प्रत्यक्ष असर पर्न गएको छ। 

अहिले उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी व्यवस्थापनको लागि खटिएका ट्राफिक प्रहरीलाई सहजिकरण लागि सिभिल प्रहरी र चुनावको लागि भनी भर्ना गरिएका म्यादी प्रहरीलाई खटाएको छ ।

सवारी व्यवस्थापनको लागि खटाइएका म्यादी प्रहरीलाई सडक सवारी व्यवस्थापन सम्बन्धी तालिम दिएर नै खटाइएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्ट बताउँछन् ।

वर्षौं सवारी व्य्वस्थापन कार्यमा खटिँदै आएका ट्राफिक प्रहरी कर्मचारीहरुलाई त उपत्यकामा सवारी व्यवस्थापन गर्न हम्मे-हम्मे पर्ने ठाउँमा म्यादी प्रहरीलाई सडकमा सवारी व्यवस्थापनको काम दिनु उचित नभएको सर्वसाधारणको भनाइ छ । 

यस्तो परिस्थितिमा सवारी व्यवस्थापन तर्फ ट्राफिक प्रहरीको मात्र मुख ताक्नुभन्दा स्वयं सवारी चालक पनि सचेत भई ट्राफिक नियमको पालना गरी सवारी चलाउनु अति आवश्यक छ ।