काठमाडौं - सर्वोच्च अदालतबाट उत्प्रेषण आदेश जारी भएलगत्तै हेटौंडामा जारी सडक सीमा संरक्षण तथा विस्तार अभियान स्थगित भएको छ। सडक डिभिजन हेटौंडाले आइतबार पत्रकार सम्मेलन गर्दै अदालतको आदेशअनुसार दिउँसो १२:४६ बजेदेखि सबै विस्तार कार्य रोकिएको जानकारी दिएको हो।
सडक डिभिजनले मंसिर ५ गते गोरखापत्रमा सूचना प्रकाशित गरी हेटौंडा बजारअन्तर्गत पर्ने राजमार्गको दायाँ–बायाँ २५/२५ गज भित्रका संरचना हटाउन आग्रह गरेको थियो। सोही सूचनाअनुसार शनिबारदेखि संरचना हटाउने र सडक विस्तार गर्ने काम सुरु गरिएको थियो।
तर, सूचनाविरुद्ध केही सरोकारवालाले सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेपछि अदालतले मिति २०८२/०८/१९ मा उत्प्रेषण आदेश जारी गरेको र उक्त आदेश २०८२/०८/२१ गते दिउँसो १२:४६ बजे म्याद तामेल भएको सडक डिभिजनले जनाएको छ।
अदालतको आदेशलाई पूर्ण सम्मान गर्दै हालका लागि सूचनामा उल्लेख गरिएका सबै प्रक्रिया स्थगित गरिएको डिभिजन प्रमुखले स्पष्ट पारेका छन्।


0 comment