रंजिला दाहाल
विश्व मानव समाज परिवर्तनशील त छ नै, त्यस परिवर्तनशील समाजको समग्र बिकाससँग महिलाहरुको भूमिकालाई जोड्न जुन जुन मुलुकले आँट गरेको छ, त्यसै अनुरुप नीति कार्यक्रमहरु बनाएको छ, त्यहाँ विकासले एक किसिमको दिगोपन ल्याएकै छ। देशको आर्थिक भनौँ या सामाजिक बिकासका लागि पुरुष सरह महिलाहरुको पनि सहभागिताले नै समाज बिकासमा एक प्रकारको सफलता पाएको देखिन्छ।
जहाँ जहाँ महिलाहरु पनि आर्थिक उपार्जनको सवालमा सशक्त उपस्थित हुन सहज छ, त्यहाँ त्यहाँ आर्थिक रुपले बिकासमा टेवा पुगेकै छ। जहाँ जहाँ महिलाहरु दबिएका छन् पुरुषहरुको बर्चश्व छ, त्यस समाज भनौँ वा घरमा आर्थिक एकरुपता आउन सकेको देखिँदैन। यस्ता विभेदले गर्दा समाजको सबै क्षेत्रमा समान बिकास र सेवा बितरण हुन सक्ने कुरै भएन।
हुन त आजकाल जताततै बलात्कार, आत्महत्या र हत्या जस्ता घटना बढेको नै छ। त्यसमा पनि महिला नै बढी शिकार हुनु परेको छ । समाजमा एक पछि अर्को जघन्य अपराध भएका छन्, त्यसमा पनि महिला नै पिडित हुनु परेको छ। त्यसमाथि घरघरमा हुने लैंगिक हिंसाको कारण आम महिलाहरु झन् पिडित बनेकै छन्। त्यसमा राज्यको दोष त छ नै, पुरुष प्रधान संस्कारले पनि धेर थोर काम त गरेकै छ।
हुन् त आजकाल यौनजन्य हिंसामा महिला मात्र होइन पुरुषहरु पनि पर्ने क्रम बढेको छ। त्यसको ज्वलन्त उदाहरण विभिन्न कलाकार र खेलाडीहरु जस्तै पल शाह, सन्दिप लामिछाने जसरी पिडित बने, एकतर्फी कानुनको कारण घटनामा पुरा छानविन नै नगरी हत्कडी लगाइयो, त्यो पनि एक किसिमको डर लाग्दो लैंगिक हिंसाको शीकार नै हो। यस्ता घटनालाई आजकाल केहि महिलाहरुले व्यवसाय नै बनाउन खोजे जस्तो छ। यस्ता घटनामा राज्य उदासिन हुन हुँदैन, उचित छानविन गर्न ढिला गर्नु हुँदैन। नत्र यस्ता घटनाले देशमा विकराल स्थिति बन्ने निश्चित नै छ। त्यसो भएको हुनाले सरकारले यस किसिमको कानुनलाई पनि पुनर्लेखन र ब्याख्या गर्न जरुरी भइसक्यो, नत्र धेरै व्यक्तिहरु यस्ता कानुनले दिएको छिद्राबाट पिडित हुनु पर्ने छ। नेपालमा लैंगिक रुपमा महिला हिंसा त छँदैछ, आजकाल पुरुषहरु पनि त्यसको शीकार हुन थालिसके। त्यसले देश बिकास र समाज बिकासमा ठुलो समस्या ल्याउने निश्चित छ। यस्ता बिषयमा सरकारको ध्यान जान जरुरी भइसक्यो। समाजलाई हिंसामुक्त वातावरण निर्माणका लागि विभिन्न व्यक्ति र संस्थाहरुले अभियानकै रुपमा कार्यक्रम बनाउन र संचालन गर्न ढिला भइसक्यो । नत्र देश बिकास, कला क्षेत्र र खेलकुद क्षेत्र पछाडी पर्ने निश्चित छ।
समाजमा हिंसाको सुरुवात विन्दु घर नै हो । त्यसैले समाज हिंसामुक्त बनाउनु छ भने प्रत्यक घर घरबाट सुरुवात हुनु पर्दछ। हुन त विभिन्न संस्था र व्यक्तिहरुबाट हिंसामुक्त अभियान रुपी विभिन्न स-साना कार्यक्रम हुने गरेको छ, तर त्यतिले अब नेपालमा पुग्दैन। देश वा समाज हिंसामुक्त बनाउन शिक्षित युवायुवतिहरुको भूमिका महत्वपूर्ण हुनेछ। त्यसका लागि सबभन्दा पहिला आफु र आफ्नो घर परिवारबाटै हिंसामुक्त अभियान सुरु गर्नुपर्दछ। त्यसो गर्न सके मात्र घर समाज हुँदै देशबाटै हिंसा मुक्त हुन सक्छ।
हिंसामुक्त समाज निर्माणको कुरा गरिरहँदा स-साना घरायसी हिंसा रोक्न सक्नु पर्दछ। त्यो भनेको श्रीमान्ले श्रीमतीलाई, सासुले बुहारीलाई, कतै कतै छोरा बुहारीहरुले बाबुआमालाई गर्ने हिंसा पनि डरलाग्दो नै छ। यस्ता हिंसा बदल्न सरकाले होइन केवल आफुले आफुलाई बदल्न जरुरी छ। त्यसो भयो भने मात्र समाज बदल्ने कुरा गर्न सकिन्छ। हिंसाले घर परिवार कम्जोर बनाउँछ, कम्जोर परिवार हुँदा समाज कम्जोर हुन्छ । कम्जोर समाज हुँदा आखिरमा देशै कम्जोर हुन्छ। सुरुवात विन्दु भनेको घर नै हो त्यसलाई बुझ्न जरुरी छ।
गरिवी नै सहि परिवारमा एकापसमा खुलेर आफ्नो कुरा भन्न सक्ने वातावरण बन्यो भने त्यस्तो घरले अवश्य परिवर्तन गर्न सक्छ। त्यो परिवार बिस्तारै सम्पन्नताको बाटोमा अघि बढ्छ। त्यसो भयो भने समाजमा अरुले सिक्ने वातावरण बन्ने छ। सिक्ने वातावरणले देशनै सुमार्गमा हिँड्न सक्छ र हामीले चाहेको जस्तो अहिंसक समाज बन्यो भने देश पनि बस्न योग्य हुन्छ। त्यसो भयो भने शिक्षित युवायुवतिहरु श्रम बेच्न विदेशीन पर्दैन। यस्तो अवस्था सृजना गर्न सकियो भने श्रम बेच्न होइन उत्पादित वस्तु बेच्न जानु पर्ने हुन्छ। व्यापारबाट मनग्य आर्थिक लाभ हुन्छ। त्यसको लागि पुरुषको मात्र भूमिकाले पुग्दैन त्यहाँ महिलाहरुको भूमिका पनि महत्वपूर्ण हुनेछ।

0 comment