इन्डियाले नेपालमा क्रान्ति गर्न अथवा अहिलेको जस्तै आफु नियन्त्रित गणतन्त्र स्थापना गर्न २०४२ शालमा नेपाली कांग्रेस पार्टीको प्रशा सम्मेलनको आयोजना गर्यो। उक्त सम्मेलनपछि नेपालमा सत्ता फेरबदल गर्न १० करोड रुपैयाँ नेपाली कांग्रेसलाई दियो। त्यो पैसाले कांग्रेसले ठाउँ-ठाउँ केहि बम काण्ड जस्ता हिंस्रक घटना बाहेक केहि गर्न नसकेपछि अझ थप हिंसात्मक क्रान्ति गर्न ठुलो रकम चाहिने हुँदा कांग्रेसको निर्णयसहित इन्डियासँग थप १५ करोड माग गर्यो। नेपाली कांग्रेसको त्यो माग उपर इन्डियन सरकार अझ सोचमग्न भयो र केहि इन्टेलिजेन्स बीच गोप्य विचार विमर्श गर्दा कांग्रेसको मागबोजिम पैसा दिनुपर्छ नत्र इन्डियन योजना सफल नहुने र नेपालका राजा अझ बढी चिनसँग नजिकिने र त्यसले इन्डियाको स्वार्थमा गम्भीर क्षति पुग्ने निष्कर्षमा इन्डिया पुग्यो।
इन्डियन सरकार र त्यँहाको गुप्तचर व्युरो नेपालको सत्ता परिवर्तन गर्न कांग्रेसको मात्र शक्तिले आफुले सोचे जस्तो क्रान्ति नहुने निष्कर्समा पुग्यो। त्यसपछि उसले नेपालको बामपन्थीहरुसँग पनि सम्पर्क बढायो। बामपन्थिहरुलाई पनि नेपालको सत्ता विरुद्ध प्रयोग गर्ने उद्देश्य अनुरुप इन्डियाले चन्द्र शेखरलाई नेपाल पठायो। चन्द्र शेखरको योजना मुताविक नेपालका बामपन्थीहरुको मोर्चा बनाइ १० करोड कांग्रेसलाई ५ करोड बाम मोर्चालाई दिईयो। त्यहि १५ करोडले २०४६ सालमा नेपालमा वहुदल भित्रिन सफल भएको भन्ने आज भन्दा २८ वर्ष अघि विजय मणि आचार्य दिक्षितले लेखेका थिए। यसै क्रममा केहि वर्ष पहिला प्रकाशित राधाकृष्ण मैनालीको नलेखिएको इतिहासको पृष्ठ १२३ मा राजतन्त्र हटाउन माधव नेपालको प्रस्ताव पढ्दा, नेपालको व्यवस्था कसको इशारामा परिवर्तन हुँदो रहेछ भन्ने छर्लंग हुन्छ।
मैनाली लेख्छन्, जनान्दोलन निरन्तर चल्दै गर्दा पाटनको च्यासलमा मालेको केन्द्रिय समितिको बैठक बस्यो। महासचिवले एजेन्डा राखेपछि केन्द्रिय सदस्यहरुले थप एजेन्डा राख्ने चलन थियो । तत्कालिन माले महासचिव मदन भण्डारी थिए। महासचिवले एजेन्डा पेश गर्ने बित्तिकै माधव नेपालले सुरुमै प्रस्ताव राखे। यो आन्दोलनलाई उचाइमा पुर्याउन छिमेकी मित्रराष्ट्र इन्डियाले यथेष्ट सहयोग गर्ने भनेको छ। त्यसैले त्यो सहयोग उपयोग गर्नु पर्दछ, यस बारेमा पनि छलफल होस्। 'के सहयोग ? मदनले सोधे। 'हतियारको सहयोग' माधवले सगर्व भने। हतियार चलाउन तालिम लिनु पर्यो, हामिसँग अनुभवी कार्यकर्ता छन् र ? मदनले फेरी सोधे। हतियार चलाउने मानिस पनि उतैबाट आउँछन्। माधवले उत्तर दिँदै आन्दोलनलाई गणतन्त्रसम्म पुर्याउन सहयोग स्विकार्नु पर्ने व्याख्या समेत सुनाए। तर त्यो बैठकमा माधवको प्रस्ताव अस्वीकृत भयो।
त्यस्तै, चैत्र २ गते च्यासलमा नै अर्को बैठक बस्यो। त्यस दिन पनि माधव नेपालले अघिल्लो बैठकमा राखेको अस्वीकृत प्रस्तावबारे आफ्नो बोल्ने पालोमा पुन: दोहर्याएर भने एकदम जिम्मेवार तहबाट सहयोग आउने भएको छ। त्यसलाई उपयोग गरौँ। कसरी ? मदनले सोधे । 'इन्डियन सेनामा कार्यरत नेपाली जवानलाई बिदामा नेपाल पठाइन्छ, उनीहरुले त्यो हतियार चलाउने छन्। अब जसरी पनि नेपालमा गणतन्त्र ल्याउनु पर्छ इन्डियनको त्यहि ईच्छा छ। माधव नेपालबाट निर्धक्क उत्तर आयो।
माथिको घटनाबाट के पुष्टी हुन्छ भने, त्यस बेला त मालेको नामबाट त्यस्ता प्रस्ताव आउँदो रहेछ भने अहिले कुन-कुन पार्टीबाट कुन-कुन नेताहरुबाट त्यस्तो प्रस्ताव आउला सहजै अनुमान गर्न सकिन्छ। किन नेपालको सत्तामा स्थाइत्व हुँदैन र सत्ता संचालनमा नेपाली अनुहारको विदेशी एजेन्ट को-को हुने त्यसमा इन्डियन भूमिका कस्तो हुने भन्ने प्रष्ट हुन्छ। एमसीसी पास पछि त्यसको पक्ष र विपक्षमा जुलुस/तोडफोड केहि भयो, त्यो स्थानीय निर्वाचनसँगै सेलायो । भर्खरै नागरिकता विधेयक स्वीकृत गर्ने समय राष्ट्रपतिबाट गुजरिन पुग्यो। हुन् त संसद्को समयावधि सकिने बित्तिकै विधेयक पनि स्वत निष्कृय हुन्थ्यो, तर नेपाल न हो यहाँ त जे पनि हुन्छ, त्यसैले निष्कृय विधेयक राष्ट्रपति कहाँ पुग्छ, राष्ट्रपतिद्वारा हस्ताक्षर नगरी समय बित्छ।
अब संघीय चुनावपछि परिणाम आफु अनुकुल नभए तराइमा आन्दोलन हुन्छ । त्यो आन्दोलनमा इन्डियाबाट मानिस पनि आउँछन्, हतियार पनि आउँछ। त्यसो त नेपाललाई अफगानिस्थान बनाउने गुरु योजना अन्तर्गत नै एमसीसी ल्याइयको हो। यो प्रोजेज्ट नेपालको बिकासको लागि होइन, नेपालमा अशान्ती फैल्याउन ल्याइएको प्रष्ट छ। एमसीसी कसको इशारामा पास भयो ? त्यसमा एमालेको भूमिका कस्तो रह्यो प्रष्ट छैन र ? त्यसैको कडीको रुपमा एसपीपी आएको पो हो कि ? त्यसो हो भने ३३ वर्ष भएछ, यिनै दलाल नेतृत्वको कमान्डमा नेपालको राजनीति पुगेको । २०४६ मा पनि यिनै कांग्रेस र शेरबहादुर थिए, यिनै केपी ओली थिए, माधव र खनाल थिए । पछी पनी कांग्रेस एमालेकै नेतृत्व थिए, बिकास किन भएन ? भोलि पनि जितेर आउने यिनै हुन्। यिनै सडेगलेका दलालहरु जस्ले जिते पनि हुने त यस्तै हो ।
त्यसो हो भने आगामी मंसिरमा हुने निर्वाचनमा आम नेपालीको भूमिका के हुने ? तमासे वा देश विरुद्ध हुन लागेको षड्यन्त्रका विरुद्ध अनि त्यस्ता पार्टीको विरुद्ध हुने? प्रश्न उठेको छ, उत्तरको प्रतिक्षामा चुनाव ।

0 comment