काठमाडौं - शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमा पहिलोपटक मस्तिष्क मृत व्यक्तिबाट एउटै बिरामीलाई मिर्गौला र कलेजो दुबै सफलतापूर्वक प्रत्यारोपण गरेको छ। यो कार्य निकै जटिल मानिन्छ र संसारमै पनि यस्ता केस निकै कम हुने गर्छन्।
प्रत्यारोपण जेठ १ मा मस्तिष्क मृत्यु भएका १८ वर्षीय युवकबाट प्राप्त अंग प्रयोग गरेर गरिएको हो। ती युवकबाट दुई मिर्गौला र एक कलेजो निकालिएको थियो।
दुबै अंग एउटै बिरामीलाई प्रत्यारोपण गरिएको छ भने अर्को मिर्गौला ४२ वर्षीया महिलामा प्रत्यारोपण गरिएको छ। दुई बिरामीको अवस्था अहिले राम्रो रहेको र चाँडै डिस्चार्ज हुने तयारीमा रहेको अस्पतालले जनाएको छ।
शल्यक्रियामा डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा चिकित्सकहरूको ठुलो टोली सहभागी भएको थियो।
नेपालमा २०७४ सालदेखि मस्तिष्क मृत व्यक्तिबाट अंग दानको प्रक्रिया सुरु भएको हो। अहिलेसम्म ६ जना व्यक्तिबाट १५ जनामा मिर्गौला र कलेजो प्रत्यारोपण भइसकेको छ।
विशेषज्ञहरूका अनुसार मस्तिष्क मृत एक व्यक्तिबाट आठ जनासम्मलाई नयाँ जीवन दिन सकिन्छ। डा. श्रेष्ठ भन्छन्, ‘मस्तिष्क मृत्यु भएपछि खेर जाने अंगले अरूलाई जीवन दिन सक्छ। अंगदान गर्नु सबैभन्दा ठूलो दान हो।’


0 comment